Logo

लोकगायिकाको ज्योती मगरलाई सुझाव, जे गर्नु छ बन्द कोठाभित्र गर!


२८ जेठ

कोमल वलीले पोइल जान पाम भन्ने गीतबाट ट्रयाक चेन्ज गरिदिइन् । त्यसैको सिको गर्दै ज्योती मगर ढांडे बिरालो बोलको गीतमा झण्डै नाङ्गिइन् । मगर रातारात हिट भएपछि अर्चना पनेरु कस्सिन थालिन् । हिट हुने नाममा कलासंस्कृति बदनाम भइरहेको गायिका उप्रेतीको अनुभव छ । त्यसैले उनी यि सब प्रवृत्तिलाई काउन्टर दिन नयां तीज गीत निकाल्ने सुरसारमा छिन् ।

गोरी गोरी धादिङकी छोरी
लाने भए आजै लैजाउ लाली बैंश चोरी

धादिङमा जन्मिएकी, हुर्किएकी र धादिङलाई नै कर्मथलो बनाएकी मोफसलकी चर्चित गायिका हुन् भगवती उप्रेती । यो गीतले धादिङप्रतिको उनको मोह प्रष्ट्याउंछ ।सानैदेखि उनी चञ्चले स्वभावकी थिइन् । गीत गाउंन र चाच्न तम्सिहाल्थिन् । बुढापाकासंग पनि पंलेटी कसेर लोकदोहोरीमा भिडीहाल्थिन् । आमाका साथीसंगीले घरमा आइ भन्थे, ‘तिम्री छोरीलाई नसकिने भयो, यसले गरिखान्छे ।’ आमा नपढेकी भएपनि टाठी । घरमै कखरा सिक्न भ्याएकी । उनी मख्ख पर्थिन तर कडा मिजास छोड्दिनथिन् । ‘गीत गाउनेमात्रै हो, दायांबायां सुन्न नपरोस् ।’ उनले आमाको अर्ती सधैंजसो सुन्नुपथ्र्यो ।

आमाको उपदेशले उप्रेतीलाई सधैं पछ्याइह्यो । पहिरन र प्रस्तुतिमा चुक्न हुंदैन भन्ने हेक्का राखिन् । शब्द र शैलीमा ख्याल गर्दैरहिन् । उनी विस्तारै समाजमा चिनिन थालिन् । ३१ बर्षको उमेरमा पहिलो एल्बम निकालिन् २०६५ सालमा । त्यसयता उनले लोकसंगीत क्षेत्रमा एकपछि अर्को उपलब्धी चुम्दै गरेकी छन् ।

दुख्छ मुटु कुटुक्क
धोका दिए हुन्छु भुतुक्क

उनको आफ्नै शब्द र संगीतको यो गीतले बाग्मती उत्कृष्ट अवार्ड दिलायो । उनलाई बिदेशबाट पनि निम्तो आउन थाल्यो । आयोजकले पछिल्लो समय उनलाई सुझाउंछन्, ‘स्टेजमा अलि ओपन भइदिनु न । ज्योतीजस्तै ।’ टमक्क लुगा लगाएर स्टेजमा जाने उनलाई यो सुझाव विषजस्तो लाग्छ । भन्छिन्,‘ एकछिन्को रमाइलो र क्षणिक फाइदाका लागि म ज्योती बन्न सक्दिन । लोकसंस्कृतिका नाममा लोकसंस्कृतिकै चीरहरण गर्न म तयार हुन्न ।’

हङकङ, जापान, थाइल्याण्ड, चीन, इण्डिया, यूएईलगायतका देश पुगेकी उनी भन्छिन्, ‘म मान्छेको दीमाग बिगार्ने गीत गाउन सक्दिन । ज्यान हल्लाएकै भरमा मलाई हिट हुनुपनि छैन । ज्योती मगरलाई जे गर्न मन छ बन्द कोठामा गर्दा हुन्छ । लोकगीतका नाममा जे पायो त्यहीं गर्ने छुट छैन ।’

तीज गीतको बद्नाम गरेकोमा उनको सबैभन्दा बढी चित्त दुखेको छ । तीजको आफ्नै मर्म छ । आफ्नै शैली र संस्कृति छ । आस्था र निष्ठा छ । कोमल वलीले पोइल जान पाम भन्ने गीतबाट ट्रयाक चेन्ज गरिदिइन् । त्यसैको सिको गर्दै ज्योती मगर ढांडे बिरालो बोलको गीतमा झण्डै नाङ्गिइन् । मगर रातारात हिट भएपछि अर्चना पनेरु कस्सिन थालिन् । हिट हुने नाममा कलासंस्कृति बदनाम भइरहेको गायिका उप्रेतीको अनुभव छ । त्यसैले उनी यि सब प्रवृत्तिलाई काउन्टर दिन नयां तीज गीत निकाल्ने सुरसारमा छिन् ।

कन्य केटा राम्री देख्दा सबै भन्छन् मेरै
राम राम हरे राम जय शिबराम
सौतामाथि यो छोरीलाई जानै नपरोस्
हे हे हे महादेब, नक्कले मोराको आंखै नपरोस् ।

आफ्नो परिवेश र धर्ती भुलिएका गीतले उनको मन दुखांउछ । त्यस्ता गीत युट्युवमा रातारात हिट हुन्छन् । गीत गाऊंनेले केही पैसा कमाउंछ । हेर्नेको दिमाग खराब हुन्छ । अन्ततः लोकसस्कृति लोप हुन्छ । उनी भन्छिन्, ‘सरकार र लोकसस्कृति सम्बद्ध निकायले नियन्त्रण गर्नुपर्छ । आज ज्योती मगर र अर्चना पनेरु निस्केका छन् । भोलि धेरैले सिको गर्छन । शरीर देखाएर गीत बिकाउने सजिलो तर अस्वश्थ शैलीले बर्वाद बनाउछ ।’

उनी गायिका हुन् । संगीतकार हुन् । गीतकार हुन् । संगीत पाठाशालामा नगएकी तर घरमै निखारिएकी संर्घषशील संगीतकर्मी हुन् । उनका शब्द र संगीतमा सन्देश भरिएको हुन्छ । जागरण जोडिएको हुन्छ । पितृसत्तात्मक समाज भन्दैमा हुंदैन, यही समाजमा पुरुष पनि ठगिएका छन् भन्ने गहिरो अनुभुति उनले गरेकी छन् । सोही अनुभुतिलाई उनले आफ्नै शब्द र संगीतमा ढालेकी छन् ।

कुन महलमा भुल्दै होली धोका दिने जाली
कुन शहरमा डुल्दै होली रुवाइ जाने जाली

उनको जीबनमा कैयौं त्यस्ता प्रसंग पनि जोडिए, जो उनी भुल्न चाहन्छिन् । तर सक्दिनन् । उनी जुन तहबाट यहांसम्म आइपुगिन् आफूलाई सफलै ठान्छिन् । संर्घषमा सफल भएपनि उनी व्यक्तिगत जीवनमा आफूलाई असफल मान्छिन् । उनका शब्दमा बिछोड र बेदना पनि समेटिएका हुन्छन् । कति त उनकै जीवनसंग जोडिएका पनि छन् । उनका आफ्नै शब्दमा सजिएको यो आधुनिक गीत झैं ।

आज फेरी दिलको घाऊ बल्झिएछ झन्
बिर्सिऊं भन्छु बैगुनीको याद आउंछ झन्

उनी फरासिली छन् । झट्ट हेर्दा राम्री पनि । लोकसंगीतमा लागेकी छन् । माया र पिरतीका बारेमा शब्द र गला बढी खर्चेकी छन् । उनको आफ्नै जीवनमा प्रेमको अनुभुति कस्तो छ ? उनी भन्छिन्, ‘प्रेम प्रस्ताव प्रशस्तै आउंछ । कतिको त प्रेम भन्ने भाव नै हुंदैन । कामवासनाको गन्ध आइहाल्छ ।’ सार्वजनिक जीवनको त्यो पनि संगीत क्षेत्रमा लागेकी महिलाप्रति मानिसको चांसो हुंने नै भयो । कति त नदेख्दै भावनामा बगिसकेका हुन्छन् । कतिले शारीरिक आशक्ति देखाउंछन् । उनी यसलाई स्वभाविक मान्छिन्,‘अरुले के सोच्छभन्दा पनि मैले के गर्नुपर्छ भन्ने कुरा ठूलो हो । कल्पना गर्नबाट कसैलाई रोक्न सकिदैन ।’

उप्रेती यौनसम्बन्धी बहशमा पनि उदाररुपमा प्रस्तुत भइन् । उनका लागि यौन मिलन र समर्पण हो । एकअर्कालाई नबिग्रार्ने, परिवार र समाजलाई पनि पाच्य हुंने सम्बन्धलाई उनी स्वभाविक मान्छिन् । दिल नमिली ज्यान मिल्नुमा उनी कुनै अर्थ देख्दिनन् । अहिलेका मिठा सपनाले भोलिको बर्बादी नल्याओस् भन्नेमा सचेत रहेको उनी बताउंछिन् । ‘सायद जीवन भोगाइले सिकायो होला, म यसबारेमा अलि पृथक छु । सेक्स प्राकृतिक हो । आवश्यक हो तर यसका लागि पनि बेला, व्यक्ति र प्रसंग महत्वपूर्ण हुन्छ ।’ उनले यौनकै कारणले कैयौंको जीवन बर्बाद भएको देखेकी छिन् । कल्पनामा रमेजस्तो जीबन हुंदैन भन्ने भोगेकी छन् । त्यसैले मर्मस्पर्शी गीत गाएकी पनि छन् ।

मिठा लाग्न छाडे सारा सपनीका साथहरु
नआए पनि हुन्थ्यो बरु कहाली लाग्दा रातहरु

प्रतिक्रिया दिनुहोस्