११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माण

११५ वर्ष पुरानो कृष्ण मन्दिर पुनर्निर्माण


सिन्धुपाल्चोक ।

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित ११५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।

नेकपा(माओवादी केन्द्र)का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गरेका हुन् ।

उनले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताए । संस्कृति आत्मा भएको भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उनको भनाइ छ ।

यस्तै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्विक सम्पदाको संरक्षणमा सधैँ लागिरहने बताए । ‘यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्छ,’ मेयर सापकोटाले भने ।

छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनर्निर्माण भएकामा खुसी व्यक्त गर्दै उनले निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रूपमा लागिपर्ने सबैलाई धन्यवाद दिए ।

नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रर्यटन क्षेत्र निर्माणका लागि निरन्तर नगरपालिका अग्रसर रहिरहने उनको प्रतिबद्धता छ ।

लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्व भएका सम्पदाहरूलाई पुनः जीवन दिनु जरुरी छ । १९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त भएको थियो ।

२०७९ फागुन १२ गते निवर्तमान सभामुख सापकोटाले नै शिलान्यास गरेको मन्दिर पुननिर्माण गरिएको हो । यो मन्दिर भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण भएको थियो ।

पुरातत्व विभाग काठमाडौँद्वारा २ करोड रुपैयाँ लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गरिएको सामग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यागोडा शैलीको मन्दिरमा हरेक कृष्ण जन्माष्टमीका अवसरमा २ दिन भव्य मेला लाग्दै आएको छ ।

कुनैबेला हाल मन्दिर रहेको स्थानमा सिस्नुघारी थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धूनको आवाज आउने र स्थानीय सो स्थानमा जाँदा धून आफैँ हराउने किंवदन्ती छ । मध्यरातमा बाँसुरीको धूनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाई पूजाआजा गर्दै आएको जनश्रुति पाइन्छ ।