राष्ट्रिय झन्डा फहराउँदै मन्त्री यादवले भने- काठमाडाैँमा राष्ट्रियता खाेज्नेले बाेर्डरमा आएर हेरून्

राष्ट्रिय झन्डा फहराउँदै मन्त्री यादवले भने- काठमाडाैँमा राष्ट्रियता खाेज्नेले बाेर्डरमा आएर हेरून्


सर्लाही ।

नेपाल र भारतको सीमा जोडिने सर्लाहीको मुख्य नाका मलंगवा नगरपालिका–८ मा १०८ फिट उचाइमा राष्ट्रिय झन्डा फहराइएको छ ।

मंगलबार एक समारोहबीच मलंगवाको सोनवरसा सीमा नाकामा प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको पार्कमा राखिएको राष्ट्रिय झन्डा मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवले फहराए । सो अवसरमा अर्थमन्त्री यादव र मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्रप्रसाद यादवले संयुक्त रूपमा पार्कको उद्घाटनसमेत गरे ।

कार्यक्रममा प्रदेश अर्थमन्त्री यादवले मधेस प्रदेशमा निर्माण गरिएको हजारौँ योजनामध्ये सर्लाहीको मुख्य सीमा क्षेत्रमा राष्ट्रिय झन्डा राख्नलाई निर्माण गरिएको योजना मधेस प्रदेशकै गौरवका रूपमा रहेको बताए । राष्ट्रिय झन्डा सम्पूर्ण नेपालीको मान सम्मान एवं स्वाभिमानलाई प्रविम्बित गर्ने उनले विश्वास व्यक्त गरे ।

‘यो देशमा पटकपटक मधेसीले राष्ट्रियताको परिचय दिनुपर्छ’, अर्थमन्त्री यादवले भने , ‘कुनै पनि राष्ट्रको राष्ट्रियता झन्डामा मात्र नीहित हुँदैन, राष्ट्रियता हरेक नागरिकको हृदयमा हुन्छ ।’

देशमा शासन गर्नेले अहिले पनि राष्ट्रियता काठमाडौँमा खोज्ने गरेको टिप्पणी गर्दै उनले भने, ‘राष्ट्रियता हेर्नुछ भने यो देशको १३ हजार ८५ किलोमिटर लामो नेपाल–भारत सीमामा दिनरात आफ्नो भूमिलाई ज्यानभन्दा प्यारो मानेर संरक्षण एवं सुरक्षा गरेर बसेका मधेसी समुदायलाई मेचीदेखि महाकालीसम्मको बोर्डरमा आएर हेर्दा हुन्छ ।’

अर्थमन्त्री यादवले आउने दिनमा मलंगवा नगरपालिकाका साथै सर्लाहीमा प्रदेश सरकारको लगानीमा विभिन्न विकास निर्माणको काम गरिनेसमेत बताए ।

मधेस प्रदेश सरकारको विशेष अनुदानबाट प्राप्त ३० लाखको लागतमा मलंगवा नगरको गौरवका रुपमा पार्क निर्माण गरी राष्ट्रिय झन्डा राखिएको प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधि, पार्टी प्रतिनिधि, आमनागरिक, नेपाल–भारत दुवै देशका सुरक्षाकर्मीका स्थानीय प्रमुखलगायत विभिन्न व्यक्तिकोसमेत सहभागिता थियो ।