लुम्बिनी गुरुयोजना क्षेत्रका काम १ महिनाभित्र सक्न उपाध्यक्ष लामाको निर्देशन

लुम्बिनी गुरुयोजना क्षेत्रका काम १ महिनाभित्र सक्न उपाध्यक्ष लामाको निर्देशन


लुम्बिनी ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् ।

उपाध्यक्ष लामाले विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनीको अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्य्राइँ नगर्न निर्माण कम्पनीलाई सचेत गराएका छन् । लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र स्ट्रिक लाइटको आज निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा। लामाले १ महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

लुम्बिनी गुरुयोजनाअन्तर्गत २ वर्षअघि ४४ किमी ड्रेन, १३ किमी सडक कालोपत्रे, १२ किमी सडक ब्लक, ८ वटा गेट र २ हजार २०० पोललगायत स्ट्रिट लाइट निर्माणका लागि छुट्टाछुट्टै ४ निर्माण व्यवसायीले निर्माण सम्झौता गरी काम गरिरहेका छन् तर सम्झौताको म्याद सकिनै लाग्दासमेत निर्माण कार्य आधा पनि हुन नसेपछि उपाध्यक्ष डा लामाले बुधबार अनुगमन गरेका हुन् ।

उपाध्यक्ष लामासहित स्थलगत अनुगमनमा सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपिकृष्ण शर्मासहितको टोली गएको थियो ।

निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गति नबढेकाले १ महिनाभित्र भौतिक प्रगति बढाउनुपर्ने र बहानाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले लामाले चेतावनी दिए ।

निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्य सचिव सानुराजा शाक्यले बताए ।

त्यस्तै योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटकपटक सचेत गराएको र अहिले उपाध्यक्षले १ महिनाभित्र भौतिक प्रगति हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएकोे बताए । कोषका अनुसार ४ वटा निर्माण व्यवसायीमध्ये २ वटाले ५० देखि ५५ प्रतिशत र २ वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ ।

ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो ।