सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य सम्भव

सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य सम्भव


विराटनगर ।

सिटिनेट नेपाल राष्ट्रिय अध्यायको वार्षिक साधारणसभा एवं अधिवेशनले सदस्य पालिकाको सहकार्यबाटै दिगो विकासका लक्ष्य पूरा हुने विश्वास लिएको छ ।

विराटनगरमा आज सम्पन्न अधिवेशनले पालिकाको प्रविधियुक्त, सुरक्षित तथा प्रभावकारी सहरी विकास प्रणालीको प्रवद्र्धन, फोहरमैला व्यवस्थापन र गुणस्तरीय विकास व्यवस्थापन तथा कार्यान्वयनमा पनि सहकार्य उपलब्धिमूलक रहने प्रतिबद्धता लिएको छ ।

सो अवसरमा सिटिनेटको दशौँ अधिवेशन पोखरा महानगरपालिकामा आयोजना गर्न समिति बनाएर काम अगाडि बढाउने निर्णय भएको छ ।

अधिवेशनले सिटिनेटको नयाँ कार्यसमिति समेत चयन गरेको छ । कार्यसमितिको अध्यक्षमा विराटनगर महानगरपालिका अध्यक्ष, उपाध्यक्षमा बुटबल उपमहानगरपालिका उपाध्यक्ष, महासचिवमा तानसेन नगरपालिका, कोषाध्यक्षमा भीमदत नगरपालिका छन् ।

साथै सदस्यमा पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका जीतपुरसिमरा र हेटौँडा उपमहानगरपालिका, वीरेन्द्रनगर महानगरपालिका, इन्सेक नेपाल, भूकम्प प्रविधि समाज नेपाल र उपमहानगरपालिका सदस्य छन् ।

विश्वमा बढ्दो सहरीकरण एवं जनसङ्ख्या वृद्धिको नकारात्मक असरलाई मध्यनगर गरी एशिया तथा प्रशान्त क्षेत्रका सहरी विकाससम्बन्धी संस्थाको सञ्जालको नेतृत्व गर्न सन् १९८७ मा सिटिनेट नामक अन्तर्राष्ट्रिय संस्थाको स्थापना थियो ।

हालसम्म यो सञ्जालले १३५ भन्दा बढी नगरपालिका, गैरसरकारी संस्था, निजी कम्पनी र अनुसन्धान केन्द्र छन् । साथै स्थानीय तहबीचको परम्पर सहयोग, सहरी व्यवस्थापनको व्यवहारिक अनुभव आदानप्रदान तथा सिकाइको आधारमा आपसी सम्बन्धमा अभिवृद्धि गर्न थप अग्रसरता, दिगो विकास गर्ने हेतुले २०५८ साल साउन २७ गते सिटिनेट अन्तर्राष्ट्रिय संस्थाको नेपाल च्यापटरको रुपमा सिटिनेट नेपाल राष्ट्रिय च्याप्टर स्थापना भएको सिटिनेटको पूर्वअध्यक्ष मीनाकुमारी लामाले जानकारी दिइन् ।

सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले अधिवेशनले एकआपसमा सम्बन्ध सुमधुर हुनुका साथै विकास र समृद्धिको यात्रामा सफलता मिल्ने भन्दै अधिवेशनमा उपस्थित सबै पालिकाका प्रमुख एवं उपप्रमुखलाई आज विराटनगरमा निस्कने वृहत राधाकृष्ण ‘रथयात्रा‘मा सहभागी हुन आग्रह गरे।

रथयात्रा आज अपरान्ह ३ः३० मा राधाकृष्ण मन्दिरबाट निस्की नगरको विभिन्न भागको परिक्रमा गर्दै पुन सोही स्थानमा पुगी विश्राम लिने कार्यक्रम छ ।