प्रधानमन्त्रीलाई अर्थविदको सुझावः रिबन काट्न छाडेर बजेट कार्यान्वयनमा लाग्नुस्
प्रकाशित मिति : 18 June, 2016

४ असार, काठमाडौं । अर्थशास्त्रीहरुले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले रिबन काट्न र दियो बाल्नका लागि दिनको पाँच वटासम्म कार्यक्रममा पुग्ने तालिकामा हेरफेर गर्नुपर्ने बताएका छन् ।रिबन काट्ने र दियो बाल्ने कार्यक्रममा पुगेर नारा लगाएका भरमा मुलुकमा आर्थिक समृद्धि नहुने भन्दै उनीहरुले बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीले अहिलेको काम गराइमा परिवर्तन गर्नुपर्ने बताए ।रिपोर्टस क्लबले शनिबार काठमाडौमा गरेको साक्षात्काकारमा अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकुरेलले बजेटको कार्यान्वयनका लागि प्रधानमन्त्रीले सबै मन्त्रीहरुलाई जिम्मेवारी तोकेर पत्र दिनुपर्ने र समयावधिभित्र काम गर्न नसके उनीहरुलाई पदच्युत गर्ने हिम्मत गर्नुपर्ने बताए । मन्त्रीहरुले तोकिएको जिम्मेवारी अनुसार काम गरे/नगरेको तथा आयोजनाहरुको काममा प्रगति भए/नभएको थाहा पाउनका लागि प्रधानमन्त्रीले उद्घाटनका कार्यक्रममा जान बन्द गरेर हरेक दुई साताको बीचमा समीक्षा बैठक राख्नुपर्ने उनको सुझाव छ ।साक्षात्कारमा राष्ट्रिय योजना आयोगका सदस्य डा. चन्द्रकान्त पौडेलले बजेटको कार्यान्वयन हुन्छ/हुँदैन भन्ने कुरा प्रधानमन्त्रीको इच्छाशक्तिमा भर पर्ने बताए ।
मन्त्री, सचिव र विभागीय प्रमुखहरुलाई जिम्मेवार बनाए बजेटको सजिलै कार्यान्वयन हुने दाबी गर्दै उनले त्यसका लागि प्रधानमन्त्रीले काम नगर्नेमाथि कारवाही गर्ने हिम्मत गर्नुपर्ने बताए ।योजना आयोगका सदस्य डा. पौडेलले दिइएको जिम्मेवारी पूरा नगरेको अवस्थामा कारवाही भोग्नका लागि आफू तयार रहेको बताए ।