भाइटीकामा मात्र खुल्ने रानीपोखरीको मन्दिर आज बेलुकीसम्मै खुल्ला

भाइटीकामा मात्र खुल्ने रानीपोखरीको मन्दिर आज बेलुकीसम्मै खुल्ला


काठमाडौं । वर्षको एक दिन भाइटीकामा मात्र खुला हुने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिर आज बिहानै बेलुकीसम्मै खुल्ला हुने काठमाडौं महानगरपालिकाले जनाएको छ । दाजुभाइ–दिदीबहिनी नभएकाहरु बालगोपालेश्वर मन्दिरमा पूजा गरी टीका लगाउने गर्दछन् । बालगोपालेश्वर मन्दिर दर्शन र टीका ग्रहणका लागि आवश्यक व्यवस्थापन महानगरपालिकाले गर्दै आएको छ । हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्ने मन्दिर आज दिनभर नै खुला रहने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

मन्दिरमा भक्तजनले बिहानदेखि बेलुकीसम्म पूजा आराधना एवं दर्शन गर्न पाउने काठमाडौं महानगर प्रहरी बलका प्रमुख एवं वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए । २०७२ वैशाख १२ गतेको भूकम्पका कारण त्यसै वर्षको तिहारदेखि केही वर्ष सो मन्दिर बन्द गरिएको थियो । भूकम्पले क्षतिग्रस्त मन्दिर २०७७ सालमा पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला हुँदै आएको छ । दाजुभाइ नहुनेका लागि काष्ठमण्डपमा अञ्जली दिदीले टीका लगाउने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिका वडा नं २० का अध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए । यस वर्ष अञ्जली दिदीले भाइटीका लगाइदिन सुरु गरेको रजत वर्षका अवसरमा विशेष कार्यक्रम छ ।