Logo

पूर्वराजा शाहद्धारा दुःख व्यक्त, हिमानी ट्रष्टमार्फत राहत बाड्ने


काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले केही दिनयताको अविरल वर्षापछि देशका विभिन्न भागमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्व राजाले हिमानी ट्रस्टमार्फत सहयोग तथा राहत वितरणको तयारी भैरहेको जानकारी दिंदै चाँडै त्यसको घोषणा हुने समेत बताएका छन् ।

पूर्वराजाका तर्फबाट सोमबार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ ‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट विगत केही दिनदेखि परेको अविरल वर्षाले देशको तराई लगायत विभिन्न भूभागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले ठूलो धनजनको क्षति पुर्‍याएकोमा गम्भीर चिन्ता एव दुःख व्यक्त गरिबक्सेको छ ।’

पूर्वराजाका तर्फबाट जारी विज्ञप्तिमा अगाडि भनिएको छ ‘यस दुःखद घडीमा धैर्य र साहसका साथ विपत्ति सामना गर्ने सफलताको लागि ईश्वरसँग मौसुफबाट प्रार्थना गरिबक्सेको छ ।’

बाढीपीडित जनतालाई राहत एवं उद्धारमा सरकारले तदरुकता देखाउनुपर्ने उल्लेख गर्दै वक्तव्यमा भनिएको छ ‘विपत्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहत एवं उद्धार उपलब्ध गराउँदै प्रकोप नियन्त्रणका लागि सम्वन्धित पक्षले तदारुकता देखाउने छ भन्ने विश्वास गरिबक्सेको छ ।’

प्रतिक्रिया दिनुहोस्