Logo

म्यान्चेस्टर युनाइटेडको शानदार सुरुवात


काठमाडौं : रोमेलु लुकाकुको २ गोलको मद्दतमा वेस्टह्याम युनाइटेडलाई ४-० ले पराजित गर्दै म्यान्चेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगिताको नयाँ सिजन सुरुवात शानदार जितका साथ गरेको छ।

घरेलु मैदान वर्ल्ड ट्राफोडमा सुरुवाती जित दर्ता गर्ने क्रममा लुकाकुका अलावा एन्थोनी मार्सियल र पउल पोग्बाले १-१ गोल गरे। युनाइटेडले लुकाकुलाई यसै सिजन एभर्टनबाट क्लबमा भित्र्याएको हो। अघिल्लो सिजन पोग्बालाई तत्कालीन कीर्तिमानी मूल्यमा भित्र्याएको युनाइटेड लुकाकुको आगमनसँग निकै सशक्त देखिएको छ।

युनाइटेडले यस सिजन सहरी प्रतिद्वन्द्वी म्यान्चेस्टर सिटीसँगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने धेरैको विश्लेषण छ। सिटीले पनि प्रतियोगितामा विजयी सुरुवात गरिसकेको छ। प्रतियोगिता अन्तर्गत आइतबार साँझ भएको अर्को खेलमा टोटनह्याम हट्सपरले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्‍यो।

टोटनह्यामको जितमा डेली अली र बेन डेभिसले १-१ गोल गरे। टोटनह्यामले गत सिजन दोस्रो स्थानमा रहँदै लिग टुंग्याएको थियो भने न्युक्यासल यसै सिजन प्रिमियर लिगमा बढुवा भएको हो।

प्रतिक्रिया दिनुहोस्