Logo

बाढी पहिरोले लियो ११५ ज्यान अझै ३८ बेपत्ता


काठमाडौं । देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या १ सय १५ पुगेको छ । गृह मन्त्रालयका अनुसार मंगलबार बिहानसम्म १ सय १५ जनाको मृत्यु भएकोको पुष्टि भएको छ ।

बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी प्रभावितको उद्धार तथा राहतका लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको छ ।

सबै प्रभावितलाई राहत पुर्याउन एकद्वार प्रणाली लागु गरी काम थालिएको उहाँले बताउनुभयो । प्रभावितका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सबै जानकारी हुने हुँदा एकद्वार प्रणालीले राहत वितरण प्रभावकारी हुने उहाँको दाबी छ । तर प्रभावितहरुले भने यो प्रणालीले सकस पारेको गुनासो गरेका छन्

प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन शर्मा मंगलबार अपरान्ह १२ बजे मध्य तथा पूर्वका बाढी प्रभावित क्षेत्रको निरीक्षणमा जाने कार्यक्रम रहेको छ । उहाँहरुले बाढी प्रभावितको अवस्था र राहत वितरणबारे बुझ्नुहुने गृहमन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्