Logo

स्वास्थ्य शिविरमा अमेरिकी सेना


गोरखा, साउन ३१ : नेपाली सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा गोरखा नगरपालिका–८ आहालेको सरस्वती माध्यमिक विद्यालय परिसरमा आजदेखि पाँचदिने निःशुल्क स्वास्थ्य शिविर शुरु भएको छ ।
‘गोरखा भूकम्प’बाट प्रभावित गोरखावासीलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले नेपाली सेना र अमेरिकी सेनाका विशेषज्ञ डाक्टर शिविरमा आइपुगेका हुन् । शिविरमा विभिन्न रोग हेर्ने नेपाली सेनाका ११ जना र अमेरिकी सेनाका ३१ जना डाक्टरले सेवाग्राहीको उपचार गर्दै आएका छन् ।

बालरोग, छाला तथा यौनरोग, दन्त, आँखा, सामान्य उपचारलगायतका सेवा शिविरमा रहेको गोरखास्थित रणसिंहदल गणका सेनानी मनोज खड्काले जानकारी दिए । आँखा, दाँत, रुघाखोकी, ज्वरोलगायतका रोगका बिरामी शिविरमा धेरै आएका छन् ।

सेनानी खड्काले भने, “बिरामीलाई निःशुल्क टिकटदेखि औषधि र उपचारसम्मको सेवा दिएका छौँ ।” शिविरमा डाक्टरबाहेक नेपाली सेनाका सुरक्षा टोली पनि परिचालन गरिएको छ । शिविरस्थल सरस्वती माविको मैदान स्तरोन्नति गर्नुका साथै भवन मर्मत, रङ्गरोगन, वायरिङलगायत कार्यहरू पनि गरिएको छ ।

यस्तै, संसारी मावि गाँखु, महेन्द्र मावि कुन्दुर, गोरखा अस्पताल, छेवेटार स्वास्थ्य चौकीमा पनि वायरिङ, भवन मर्मतलगायतका कार्य नेपाली सेना र अमेरिकी सेनाको संयुक्त टोलीले गरेको हो । नेपाली सेनाका प्रमुख सेनानी डा अनिलकुमार सिंह डंगोलका अनुसार विभिन्न रोगबाट पीडित बिरामीलाई स्वास्थ्य उपचार गरी निःशुल्क औषधिलगायत सहयोग गर्न शिविर आयोजना गरिएको हो ।

शिविरको पहिलो दिन सोमबार २०० जनाभन्दा बढीले सेवा लिएका छन् । आँखाका बिरामीलाई उपचारपछि चस्मा, दाँतका बिरामीलाई ब्रस, मञ्जनलगायत रोगअनुसार आवश्यक पर्ने औषधि निःशुल्करूपमा उपलब्ध गराइएको नेपाली सेनाले जनाएको छ । शिविरमा प्रायः वृद्धवृद्धा स्वास्थ्य सेवा लिन आएका थिए ।

प्रतिक्रिया दिनुहोस्