Logo

१२ वर्षीया बालिकाको बलात्कारपछि निर्मम हत्या


जनकपुर : ३२ साउन / जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ । जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको हो। साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन् ।
मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए । पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन् । सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए ।
पुष्पाले प्रहरीलाई बताए अनुसार आफू पसलबाट फर्केर आउने बेलामा दिदी जोडजोडले कराएको सुनेकी थिइन् । उनलाई दिदीलाई बिजुलीमा करेन्ट लाग्यो कि भन्ने आशंका लागेको बताइन् । उनी आत्तिदै आफ्नो छिमेकीलाई सहयोगको लागि गुहार गर्दै कराइन् ।
एकछिनमै छिमेकीहरु जम्मा भएर घरभित्र पस्दा महतोले विविकाको घाँटी थिचेर हत्या गरी काठको खाली बाकसमा शव राखिसकेका थिए । महतोलाई स्थानीयहरुले कुटपिट गर्दै समाते र विविकालाई उपचारको लागि जनकपुर अंचल अस्पताल पुर्याए तर, अस्पताल पुग्दासम्म उनको उपचारमा ढिलो भइसकेको थियो ।
महतोलाई स्थानीयहरुले कुटपिट गरेको हुंदा उनलाई प्रहरीले नियन्त्रणमा लिएर हाल उपचारको लागि जनकपुर अंचल अस्पतालमा भर्ना गराएको छ ।
एकछिन् अगाडि दिदिसंग खेल्दै गर्दा केही बेरमै उनको मृत्यु भएको देखकी पुष्पमा बोल्नै नसक्ने भएकी छिन् । उनी अहिले पनि दिदी बितेको कुरा मान्न सकेकी छैनन् । हाल विविकाको शव परिक्षणको लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्