Logo

बाढीपीडितलाई राहत दिनमा कांग्रेस अगाडि


काठमाडौं । कांग्रेसले दुई सय सात पार्टीका सांसदको एक महिनाको पारिश्रमिक बाढीपहिरोपीडितलाई उपलब्ध गराएको छ ।

२९ साउनमा पार्टीको कार्यसम्पादन समिति बैठकले गरेको निर्णयअनुसार सांसदको पारिश्रमिक एक करोड १५ लाख रुपैयाँ बाढीपहिरोपीडितलाई उपलब्ध गराउने गरी छुट्याउन संसदीय दलको कार्यालयलाई पत्र काटिसकेको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

‘कांग्रेसबाट दुई सय सातजना माननीय हुनुहुन्छ, उहाँहरू सबैको एक महिनाको पारिश्रमिक काटेर बाढीपीडितलाई उपलब्ध गराउने व्यवस्था गर्न प्रमुख सचेतक चिनकाजी श्रेष्ठको नाममा केन्द्रीय कार्यालयले पत्र काटिसकेको छ,’ उनले भने ।

कार्यसम्पादन समितिले पार्टीका सबै सांसदको एक महिनाको पारिश्रमिक भनेकाले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको तलब पनि दलले काटिने केसीले बताए । कांग्रेसले ‘कांग्रेस बाढीपीडित राहत कोष’ नाममा बैँक खाता खोलेर पार्टी केन्द्रीय सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि, जिल्ला कार्यसमिति र पार्टीका चार लाख ७० हजार क्रियाशील सदस्यलाई राष्ट्रिय शोकमा स्वेच्छाले सहयोग गर्न सर्कुलर जारी गरिसकेको केसीले जनाए ।

त्यस्तै भ्रातृसंस्था, शुभेच्छुक संस्था र पार्टीको विदेशका १९ स्थानमा रहेका सम्पर्क समितिलाई पनि एकद्वार प्रणालीअन्तर्गत बैंक खातामा सक्दो सहयोग जम्मा गर्न पत्राचार गरेको छ । त्यसैगरी, एमालेले बाढीपहिरोपीडित परिवारका लागि पार्टीका सांसदबाट एकमुष्ट ८२ लाख रुपैयाँ राहत संकलन गर्ने भएको छ । संसदीय दलको बैठकले सबै सांसदबाट एक महिनाबराबरको तलब एकमुष्ट संकलन गर्ने निर्णय गरेको हो । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सचेतक गोकुल घर्तीका अनुसार एक सय ७९ सांसदको तलब एकमुष्ट जम्मा गरी पार्टीले स्थापना गरेको प्राकृतिक विपत्ति कोषमा जम्मा गरिनेछ । कोषमा जम्मा भएको रकम छिटै पीडित परिवारलाई हस्तान्तरण गरिने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

‘कहिले, कसरी गर्ने भन्ने निर्णय भएको छैन । सरकारको राहत कोषमा पनि जम्मा हुन सक्छ । पार्टीले सीधै हस्तान्तरण पनि गर्न सक्छ,’ श्रेष्ठले भने, ‘अहिले कोषमा रकम जम्मा हुने क्रम जारी छ ।’ एमालेले पीडित परिवारका लागि कृषि विकास बैंकमा राहत कोष खाता स्थापना गरेको छ ।

एमालेले प्रदेश, जिल्ला र क्षेत्रका कमिटीहरू, जनसंगठनहरूलाई पीडितको उद्धार, राहत र पुनस्र्थापनामा खटिन निर्देशन दिएको छ । एमालेका १९ जनवर्गीय संगठन प्रभावित १४ जिल्लामा खटिएका छन् ।नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्