ट्रयाक खुलेकाे डेढ दशकसम्म बन्न नसकेकाे एउटा सडक…

ट्रयाक खुलेकाे डेढ दशकसम्म बन्न नसकेकाे एउटा सडक…


गलेश्वर ।

म्याग्दीको बेनी नगर कार्यपालिकाको प्रवेशद्वारदेखि सोही नगरपालिका-२ ज्यामरुककोटको भकुण्डे जोड्ने बेनी-लभ्लीहिल-भकुण्डे सडक खुलेको १६ वर्ष पुगिसकेको छ। सडक खुलेको लामो समय बितिसक्दा पनि सडकको अवस्था उस्तै छ। सडकको अवस्थामा सुधार नहुँदा स्थानीयवासी बेनी-रत्नेचौर-भकुण्डे हुँदै घुमाउरो र कठिन यात्रा गर्न बाध्य छन्।

विसं २०६५ सालमा ट्रयाक’ खुलेको बेनी-लभ्लीहिल-भकुण्डे सडक स्तरोन्नति नहुँदा अहिलेसम्म मोटरसाइकल र ट्रयाक्टरबाहेक अरू सवारी साधन सञ्चालन हुन नसकेका स्थानीय कृष्णबहादुर घिमिरेले बताए। सवारीसाधन सञ्चालन हुने गरी सडक मर्मत नहुँदा स्थानीयलाई सास्ती भोग्नुपरेको उनको भनाइ छ। विसं २०६५ सालमा ट्रयाक खोल्ने काम भए तापनि बाटोमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यान नजाँदा जोखिम मोलेर यात्रा गर्नु परेको खबराका चन्द्रबहादुर कार्कीले बताए।

‘अहिलेसम्म बेनीबाट जिप वा बसमा चढेर गाउँमा आउन पाइएको छैन,’ कार्कीले भने, ‘खेतबारीमा फलाएका तरकारी र फलफूल पनि डोकोमा बोकेर बिक्री गर्न बजार लैजानुपर्छ, सडक हुनु र नहुनुको अर्थ नै भएन।’

समय सयममा सामान्यरुपमा सडक मर्मतको काम हुने भए पनि अझैसम्म यातायातका साधन सञ्चालन हुन सक्नेगरी मर्मत हुन नसकेको स्थानीयवासीको गुनासो रहेको छ। बर्सातको समयमा बाढीपहिरो तथा हिलाम्य र हिउँदको समयमा धुलाम्य भएर पैदल र मोटरसाइकलमा कठिन यात्रा गर्नु परेको बेनी नगरपालिका-२ सानालेखका नारायण शर्माले बताए। साढे सात किलोमिटर कच्ची उक्त सडकमा जिप, बसलगायतका साधन चल्न सक्ने अवस्था नहुँदा बेनीबाट रत्नेचौर हुँदै साढे १४ किलोमिटरको घुमाउरो सडक पार गरेर जिप भकुण्डेसम्म पुग्छ।

बाटोको समस्याकै कारण म्याग्दीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल ज्यामरुककोटको खड्गभवानी कोतमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समस्या भएको छ। बाटोको मर्मत सुधार गरी यातायातका साधन सञ्चालन हुनसक्ने बनाउन सके ज्यामरुककोटमा पर्यटक पुग्नाका साथै स्थानीयलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज हुने स्थानीय भीमबहादुर पौडेलले बताए। उक्त सडक मर्मतका लागि हालसम्म करिब एक करोड रूपैयाँ खर्च भइसकेको छ।

वडा नं २ का वडाध्यक्ष यामबहादुर कार्कीले कमजोर भूबनोट, धेरै घुम्ती भएको र वन क्षेत्र रहेकाले बेनी-भकुण्डे मोटरबाटो जति मर्मत गरे पनि सुधार हुन नसकेको बताए। सडकको स्तरोन्नतिका लागि ठूलै बजेट आवश्यक पर्ने उनको भनाइ छ।