Logo

दुबै निर्वाचन एकै पटक तर दुई चरणमा


काठमाडौं : प्रमुख तीन दल र निर्वाचन आयोगका पदाधिकारी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकैपटक दुई चरणमा गर्न सहमत भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको कांग्रेस, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी एमाले र आयोगका पदाधिकारीबीचको बैठकमा यस्तो सहमति भएको हो ।

‘निर्वाचन आयोगले हिमाली र उच्च पहाडी जिल्लामा मंसिर ४ गते र अन्य जिल्लामा मंसिर २१ गते निर्वाचन गर्न प्रस्ताव राख्यो’, एमाले संसदीय दलका उपनेता सुुवास नेम्बाङले बिहीबार राति अन्नपूर्णसँग भने ।

नेता नेम्बाङका अनुसार दुई चरणमा मतदान हुने भए पनि मतगणना भने दोस्रो मतदान सकिएपछि मात्र सुरु गर्न आयोगले प्रस्ताव गरेको छ । एकै दिन दुवै तहको निर्वाचन गराउन आयोगले भदौ ५ गतेभित्र प्रदेशसभा र प्रतिनिधिसभासम्बन्धी कानुन पारित गर्नुपर्ने र भदौ १५ गतेभित्र क्षेत्र निर्धारण आयोगको प्रतिवेदन पाउनुपर्ने सर्त राखेको छ ।

व्यवस्थापिका-संसद् बैठक आइतबार डाकिएकाले त्यसअगावै राज्यव्यवस्था समितिमा रहेका ती विधेयकमा तीनै दलको सहमति जुटाइने भएको छ । सहमतिका लागि कांग्रेस, एमाले र माओवादी केन्द्रका तीन÷तीन प्रतिनिधि, तीनै दलका प्रमुख सचेतक र राज्यव्यवस्था समितिका प्रतिनिधि बसेर शुक्रबारदेखि नै आवश्यक गृहकार्य गर्नेछन् ।

‘सहमतिका साथ आएको विधेयकलाई सम्भवतः आइतबार बस्ने संसद् बैठकबाट पारित गरिने सहमति भएको छ’, एमाले नेता नेम्वाङले भने ।
सत्तापक्षलाई आफूहरूले छिटोभन्दा छिटो प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको उनले जानकारी दिए । ‘सम्भवतः सरकारले एक-दुई दिनभित्र निर्वाचनको मिति घोषणा गरी मुलुकलाई निर्वाचनमय बनाउने विश्वास हामीले लिएका छौं’, उनले भने ।

तीन दलका शीर्ष नेताहरूले आयोगका पदाधिकारीलाई गृहकार्य गरी एकै चरणमा एकै दिन निर्वाचन गराउनेतर्फ लाग्न आग्रह गरेका थिए । दलहरूको आग्रहमा आयोगका पदाधिकारीले छलफल गरी शुक्रबारसम्म ठोस निर्णय दिन सकिने बताएका थिए ।

‘आयोग एकै चरणमा दुवै निर्वाचन गर्न तयार छ । त्यसका लागि हिमाली क्षेत्र र उच्च पहाडी क्षेत्रका ३५ जिल्लामा मंसिर ४ गते र अन्य जिल्लामा त्यसको ७-१० दिनभित्र निर्वाचन मिति तोक्नुपर्ने प्रस्ताव आयोगले गरेको छ’, आयोगका सचिव महेश्वर न्यौपानेले अन्नपूर्णसँग भने ।
बैठकमा दुई प्रकारको मतपत्रको व्यवस्था गर्न पनि छलफल भएको छ । पहिलो मतपत्रमा समानुपातिक प्रदेशसभा र प्रतिनिधिसभा तथा दोस्रो मतपत्रमा प्रत्यक्ष प्रदेशसभा र प्रतिनिधिसभा राखिने दुवै मतपत्रमा मतदाताले दुई÷दुई छाप लगाउनुपर्ने विषयमा आयोग पदाधिकारी तथा दलका नेताहरूबीच छलफल भएको सचिव न्यौपानेले जानकारी दिए ।

‘निर्वाचनका लागि आयोगले शीर्ष नेतासँग प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी संसद्मा रहेको कानुन भदौ ५ गतेभित्र पारित गर्न, क्षेत्र निर्धारण आयोगको प्रतिविदेन भदौ १५ भित्र उपलब्ध गराइदिन एवं जनक शिक्षा सामग्री केन्द्रले करिब तीन करोड ७५ लाख मतपत्र छिटोभन्दा छिटो उपलब्ध गराउनुपर्ने सर्त राखेको छ’, उनले भने ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले भने, ‘सरकारले आइतबारसम्म निर्वाचन मिति घोषण गर्नेछ । हामीबीच सबै समस्या टुंग्याउँदै एकै दिन दुवै निर्वाचन गर्ने सहमिति भयो ।’ पहिलो चरण मंसिर ४ र दोस्रो मंसिरको २०-२१ का लागि तय गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्