Logo

बाढीपीडितले पाउने भए दैनिक ७० रुपैयाँ


काठमाडौं : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले बाढी प्रभावित जिल्लाका स्थानीयहरुलाई प्रति ब्यक्ति दैनिक ७० रुपैयाँका दरले एक महिनाका लागी एकमुष्ट नगद उपलब्ध गराउने बताएका छन् । शुक्रवार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री शर्माले प्रभावित परिवारलाई नगद उपलब्ध गराउनका लागी सरकारले एक अर्ब निकासा गरेको जानकारी दिए ।

‘यसरी नगद उपलब्ध गराउँदा कुहिएको चामल बाँड्ने समस्या हुँदैन’ मन्त्री शर्माले भने, ‘प्रतिब्यक्ति रु. ७० को दरले नगद दिँदा सामान्य दाल भातको समस्या हल हुने आँकलन गरेका छौं ।’

प्रभावित परिवारलाई नगदै दिएमा उनीहरुले इच्छाअनुसारको खाद्यान्न किनेर उपभोग गर्न सक्ने उल्लेख गर्दै मन्त्रि शर्माले भने, ‘प्रभावित जिल्लाका कत्तिपय स्थानमा पसलको समस्या भएमा खाद्य संस्थानमार्फत खाद्यान्न खरिद गर्ने ब्यवस्था मिलाउँछौं ।’

बाढीका कारण ३० जिल्ला प्रभावित भएको जसका कारण १३५ जनाको मृत्यु र ३५ बेपत्ता भएको जानकारी दिँदै मन्त्रि शर्माले भने, ‘रौतहटमा हराएका भनिएका ५ जना घर फर्किएका छन्, अन्य बेपत्ताहरुको खोजी कार्य जारी छ ।’

विपद्को समयमा सहयोग गर्न चाहने विदेशी दातृ निकाय वा ब्यक्तिहरुलाई ‘प्रधानमन्त्री राहत उद्धार कोष’ मार्फत सहयोग गर्न आग्रह गर्दै मन्त्रि शर्माले प्रभावित क्षेत्रमा राहत वितरणका लागी कसैलाई बन्देज नगरिएको स्पष्ट पारेका थिए ।

‘सहयोग गर्न चाहने कसैलाई रोकेको छैन, रोक्ने मनशाय पनी छैन’ मन्त्री शर्माले भने, ‘राहतको दुरुपयोग नहोस भनेर सचेतना अपनाउँदै सरकारले लिएर प्रभावित बस्तिमा वितरण गर्ने प्रणाली विकास गरेका छौं ।’

प्रभावितलाई सहयोग गर्ने नाममा नेपाल भित्र र बाहिर समेत बैंक खाता खोलिएको जानकारी प्राप्त भएको बताउँदै मन्त्री शर्माले ब्यक्तिगत रुपमा कसैले खाता खोल्न नपाउने बताए । ‘प्रभावितका नाममा ब्यक्तिगत रुपमा कसैले पनी खाता खोलेको कुरा स्विकार गर्दैनौं’ उनले भने, ‘सरकारको स्विकृती लिएर मात्र खाता खोल्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्