Logo

प्रधानमन्त्री देउवालार्इ ‘गार्ड अफ अनर’,दिल्लीमा बज्यो नेपाली राष्ट्रगान


काठमाडौँ  । भारतको पाँच दिने भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित राष्ट्रपति भवनमा बिहीबार बिहान ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ।

विशेष राजकीय सम्मान ग्रहण गर्न राष्ट्रपति भवन प्रांगणमा पुगेपछि प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले स्वागत गर्नुभएको छ ।

राष्ट्रपति भवनमा पत्नी आरजु देउवा(राणा) सहित पुग्नुभएका देउवालार्इ मोदीले हात मिलाएर अंकमाल गर्दै स्वागत गर्नुभएको हो । उहाँलार्इ त्यसपछि  भारतीय सेनाको एउटा टुकडी ‘गार्ड अफ अनर’को सम्मान प्रदान गरेको थियो ।

गार्ड अफ अनर सम्मानपछि राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री देउवाले नेपालको राष्ट्रिय गानमा सलामी लिनुभयो। देउवाको सम्मानमा भारतीय सैनिकको टुकडीले नेपाली राष्ट्रिय गान बजाएका थिए ।

गार्ड अफ अनर सम्मान ग्रहरण गरेपछि प्रधानमन्त्री देउवाले राजघाटमा पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पगुच्छा चढाउनुभयो । त्यसपछि देउवा र भारतीय विदेश मन्त्री सुस्मा स्वराजबीच साढे १० बजे भेटवार्ता भएको छ ।

देउवा र मोदीबीच बिहीबार साढे ११ बजे हैदराबाद हाउसमा आधा घन्टा भेटवार्ता हुने कार्यक्रम छ। देउवा र मोदीबीच वान टु वान वार्तापछि दुवै देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता मध्यान्ह १२ बजेदेखि हुने भएको छ ।  त्यसपछि दिउँसो साढे १ बजे दुवै देशबीच संयुक्त पत्रकार सम्मेलनको कार्यक्रम राखिएको छ ।

देउवा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ बजेर ३५ मिनेटमा अर्थमन्त्री अरुण जेट्लीले देउवालाई भेट्ने कार्यक्रम छ । त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकहाय नायडुसँग भेटवार्ता गर्नुहुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्