Logo

प्रचण्डको प्रश्न संविधान संशोधनबारे प्रधानमन्त्री किन भारतमा बोले


सुर्खेत । संविधान संशोधनबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय नेतृत्वसँग बोलेर गलत गरेको टिप्पणी सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले गर्नुभएको छ ।

संविधान संशोधन नेपालको आन्तरिक मामिला भन्दै प्रचण्डले देउवाले भारतीय प्रधानमन्त्रीसँग त्यसबारेमा बोल्नु गलत भएको टिप्पणी गर्नुभयो ।

नेकपा माओवादी केन्द्र ६ नम्बर प्रदेशको बैठक र प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत आइपुग्नु भएका अध्यक्ष प्रचण्डले नेपालको संविधान संशोधन गर्न सकिन भन्नु गलत भएको बताउनु भयो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका प्रचण्डले नेपालको आन्तरिक विषय पुनः दलहरूसँग छलफल गरेर संशोधन प्रस्ताव ल्याउन सकिने मार्गदिशा हुँदाहुँदै भारतमा पुगेर प्रधानमन्त्रीले बोल्नु गलत भएको उल्लेख गर्नुभयो ।

उहाँले यो वर्ष निर्वाचन वर्ष भएकाले आगामी मङ्सिर १० गते सङ्घ र प्रदेशको निर्वाचन एकै चरणमा हुनेमा आफूहरू विश्वस्त रहेको बताउनु भयो । मौसमको प्रतिकुलताका कारण एकै चरणमा नभई दुई चरणमै निर्वाचन सम्पन्न गर्दा पनि आफ्नो पार्टीलाई मान्य हुने उहाँको भनाई छ ।

देशका सबै राजनीतिक दलहरू चुनावी माहोलमा केन्द्रित भइरहेका बेला सामन्ती र प्रतिक्रियावादी शक्तिहरू चुनाव हुन नदिने खेलमा लागेको प्रचण्डले खुलासा गर्नुभयो । उहाँले कुनै पनि हालतमा त्यो शक्ति सफल नहुने र आफै पतन हुने बताउनुभयो ।

अस्थिर राजनीतिले नेपालले सोचेजस्तो विकास गर्न नसकेको भन्दै अध्यक्ष प्रचण्डले कार्यकारी राष्ट्रपति हुनुपर्छ भन्ने अडानमा आफूहरू रहेको स्पष्ट पार्नुभयो । प्रदेश ६ का १० जिल्लाका पार्टी अगुवा नेता तथा कार्यकर्ता सहभागी रहेको प्रशिक्षण भेलामा नेकपा माओवादी केन्द्रका सङ्गठन विभाग प्रमुख रामबहादुर थापा बादल, केन्द्रीय कार्यालय सदस्य नारायणकाजी श्रेष्ठ, पूर्वगृहमन्त्री तथा प्रदेश ६ का इन्चार्ज शक्ति बस्नेत लगायतले प्रशक्षिण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्