Logo

कसरी बन्दैछ कोइरालाको गठबन्धन ?


काठमाडौ  ९ भदौ । ४ साउनमा टोखास्थित कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा जम्मा भएर राजनीतिक एवं पारिवारिक वार्तालाप गरेर कोइराला परिवारका तीन नेताले आफूहरु एक ठाउँ भएको राजनीतिक सन्देश दिएका थिए। झण्डै डेढ बर्षपछि भएको त्यो पारिवारिक भेटलाई कांग्रेसभित्रको भावि राजनीतिका लागि रणनीतिक तयारीका रुपमा अर्थ्याइएको थियो।

टोखास्थित शशांकको निवासमा भेला भएर छुट्टीएका महामन्त्री कोइराला, नेता डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला शुक्रबार फेरि एकै ठाउँमा उपस्थित भएका छन्। महाराजगञ्जस्थित डा. शशांकको निवासमा उपस्थित भएका शेखर र सुजाताले सामूहिकरुपमा नेपाल पत्रकार महासंघका नवनिर्वाचित टिमलाई बधाइ तथा शुभकामना दिएका छन्।

कोइराला परिवारका तीन नेताले सामूहिकरुपमा चियापानका लागि पत्रकार महासंघका नवनिर्वाचित टिमसँगै अन्य पत्रकारहरुलाई पनि निमन्त्रणमा गरेका थिए। पत्रकारलाई आफ्नै निवासमा बोलाएका कोइराला परिवारका नेतात्रयले फेरि एउटा ‘राजनीतिक सन्देश’ दिन खोजेका छन् भन्दा अत्युक्ति हुँदैन।

पत्रकारहरुलाई चियापानका लागि सामूहिकरुपमा आमन्त्रण गरिएको कार्यक्रममा महामन्त्री शशांक कोइरालाले मात्रै बोलेका थिए। शशांकले दायाँतिर पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्य र कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवलाई राखेका थिए भने आफ्ना बाँयातिर दाजु शेखर र दिदी सुजातालाई राखेका थिए।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी दोस्रो स्थानमा रहेपछि कोइराला परिवारहरुले कांग्रेसको भविष्य र नेतृत्वका विषयमा पछिल्लो समय अलिक चासो देखाउन थालेको कुरा कतै छिपेको छैन। पत्रकार महासंघका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिनुअघि कोइराला परिवारका तीन सदस्यले झण्डै एक घण्टा सममायिक राजनीति र नेपाली कांग्रेसका विषयमा कुराकानी गरेको बताइएको छ।

‘स्वभाविक रुपमा छलफल भइरहन्छ, हामीमा दललाई कसरी अघि बढाउने र जनतामाझ कसरी प्रभावकारी ढंगमा जाने भन्ने चिन्ता रहन्छ नै’ कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले भने, ‘पारिवारिक रुपमा पनि कुराकानी हुनु अनौठो होइन।’
कोइराला परिवारको पछिल्लो भेटमा शेखरले हालैका दिनमा तराईमा देखिएको बाढीको प्रकोप र आफू खटिएको विराटनगरको स्थितिबारे अनुभव सुनाएको बताइएको छ। सँगै, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको संक्षीप्त समीक्षा भएको स्रोतहरुको भनाइ छ।

त्यसैगरी, यसअघिको भेटमा झैं आजको छलफलमा पनि कोइराला परिवारले दोस्रो चरणको निर्वाचनको परिणामबाट पार्टी दोस्रो स्थानमा पुगेको भन्दै अबका दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने पक्षमा पनि कुराकानी गरेका गरेको थियो। ‘कोइराला परिवारले एक प्रकारण रणनीतिक नक्शा बनाउन खोजेजस्तो देखिन्छ, खासगरी यिनीहरुको रणनीति यता पुरानो संस्थापनबाट रामचन्द्र पौडेल र प्रकाशमान सिंहलाई क्रस गर्दै देउवालाई उछिन्ने प्रयत्न हुनसक्छ’ कोइराला परिवारसँग सन्निकट भएर काम गरिरहेका एक नेताको भनाइमा ‘आगामी महाधिवेशनमा कोइराला परिवारभित्रै बाट सभापति बनाएर पार्टीलाई आफूहरुले लीड गर्ने दाउ छ।’

सभापति शेरबहादुर देउवाले पार्टीलाई संगठीतरुपमा चलाउन नसकेको र पार्टीभित्रको गुटगत राजनीति मौलाएपछि कोइराला परिवारका नेताहरु एक ठाउँमा उभिएर एकता र कोइरालाहरु एक ठाउँमा रहेको सन्देश दिन खोजिरहेको तर्क पनि ती नेताको छ।

१३ औं महाधिवेशनमा सबैभन्दा कान्छा शशांक पार्टीको महामन्त्री भए। शशांककी दिदी सुजाताले पार्टी सभापतिमा उठ्ने घोषणा गरिन् तर, दाजु शेखर र शशांकले नै उनलाई मनाएर घोषणा फिर्ता लिएर सभापतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने घोषणा गर्न लगाएका थिए। त्यसपछि कांग्रेसको राजनीतिबारे कोइरालाहरुको बोली एउटै थिएन। सुजाता एकतिर लागिन् भने शेखर नेतृत्वको आलोचनामा व्यस्त बने। शशांक आफ्नै तालमा थिए। महाधिवेशनक भएको डेढ वर्षभन्दा बढी पारिवारिक र राजनीतिक भेटमा समेत कोइरालाहरुबीच कुराकानी भएको थिएन।

त्यसपछि एक्कासी गत साउन ४ मा टोखास्थित निवासमा लञ्च मिटिङ गरेर नयाँ राजनीतिक सन्देश दिँदै छुटेका कोइराला परिवारका नेताहरु अब पत्रकार भेटघाटमा पनि सँगै उभिन थालेका हुन्। प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला कोइरालाहरु फेरि एक ठाउँमा उभिएर पत्रकारहरुसँग साक्षात्कार पनि गर्नुलाई अर्थपूर्णरुपमा लिइएको छ।

सभापति देउवाले उपसभापति मनोनीत नगरिएको अवस्थामा पार्टी पंक्तीभित्र १० औं नम्बरमा रहेका नेता विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी थमाएर दिल्ली पुगेका छन्। तर, यसलाई लिएर पार्टीभित्र असन्तुष्टिको ध्वनी पनि सुनिन थालेको छ। पार्टी सभापतिपछि महामन्त्री, कोषाध्यक्ष रहेपनि देउवाले निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि कोइराला परिवार पनि खुशी हुने कुरै रहेन। कांग्रेसको विधानमा पार्टी सभापति विदेश भ्रमणमा जाँदा उपसभापतिलाई कार्यवाहकको जिम्मेवारी दिने व्यवस्था छ।

तर, देउवाले सभापतिमा निर्वाचित भएको डेढ वर्ष भइसक्दा पनि पदाधिकारीलाई नै पूर्णता दिन सकेका छैनन्। यस्तो अवस्थामा दशौं नम्बरमा रहेका निधि कार्यवाहक सभापति बनेका छन् जसले कोइराला परिवारलाई पनि झस्काएको छ।

कोइराला परिवारकै हातमा रहँदै आएको कांग्रेसको विरासत १३ औं महाधिवेशनबाट गुमेको थियो। कोइराला परिवारलाई आफूसँगै लिएर सभापतिको चुनाव लडेका रामचन्द्र पौडेल देउवासँग पराजित भएपछि कोइरालाको विरासत देउवाको हातमा पुगेको थियो। नेपालखबरमा माधव धितालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्