Logo

कस्ले पासो थापेर मार्यो हात्ती


महेन्द्रनगर । कञ्चनपुरको पुनर्वास क्षेत्रमा विद्युतीय पासोमा परेर एक जंगली भाले हात्ती मरेको छ । सिकारीले थापेको विद्युतीय पासोमा परेर हात्ती मरेको जिल्ला वन कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० नौराङ्गस्थित नमुना सामुदायिक वनमा विद्युत्तीय पासोमा परेर शुक्रबार बिहान ३ बजे हात्ती मरेको हो । ‘बिहान हामीले ८ बजे मात्रै हात्ती मरेको भन्ने खबर थाहा पायौं,’ सहायक वन अधिकृत वीरबहादुर ठगुन्नाले भने, ‘घट्नास्थलको अवस्था हेर्दा वन्यजन्तु तस्करीमा संलग्न गिरोहले पासो थापेरै मारेको भेटियो ।’

पासो थाप्न विद्युतीय तार विछ्याउने स्थान सफा गरेर त्यहाँ सानो खम्बा गाडेको देखिएको वन कार्यालयले जनाएको छ । करेन्ट लागेर मरेको हात्ती भारतको दुदुवा नेशनल पार्कबाट आएको हुनसक्ने वन कार्यालयको अनुमान छ । हात्तीको पिठ्युको दायापट्टी तारले गहिरो पारेर जलेको छ । घाँउजाँच गर्दा बढी विद्युत प्रवाह हुन गई मरेको देखिन्छ ।

हात्तीलगायतका जंगली जनावर वर्षायाम सुरु भएसँगै नमूना सामुदायिक वनको बाटो हुँदै चुरेतर्फ जाने गरेको वन संरक्षणकर्मीले बताएका छन् । ददुवा नेशनल पार्क डुबानमा पर्ने भएकाले त्यसबाट जोगिन जंगली जनावर सुरक्षित स्थानको खोजीमा जाने गर्छन् । सिकारीले हात्तीको पुच्छर लगेर गएका छन् । अन्य अंगहरु भने नलगेको पाइएको वन कार्यालयले जनाएको छ ।

बिगत दुई वर्ष यता पुनर्वासमा ४ वटा हात्तीको मृत्यु भइसकेको छ । विद्युतीय पासोमा परेर मरेको भने यो पहिलो घट्ना हो। जिल्ला वन कार्यालयले विद्युतीय पासोमा परेर हात्तीको मरेपछि त्यसको अनुसन्धान थालेको छ । सहायक वन अधिकृत बीरबहादुर ठगुन्नाले अनुसन्धान टोली बनाएर अनुसन्धान अगाडी बढाइएको बताए । विद्युतीय पासोमा परेर मरेको हात्तीको सोही स्थानमा दाहसंस्कार गरिएको छ ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्