Logo

काम गर्नेबाटै मारिइन् पार्वती ढकाल, कसरी भयो हत्या


काठमाडौं : बुढानिलकण्ठस्थित तौलुङमा गत २०७४ साउन १२ गते पार्वती ढकालको आफ्नै घरमा हत्या भयो । घरमा उनी मात्र थिइन्, दिउँसै डकैती गर्न आएका व्यक्तिहरुबाट उनको हत्या भएको प्रहरीले प्रारम्भिक अनुसन्धानमा नै पत्ता लगायो ।

१२ वर्षीय नाति स्कुलबाट फर्किदा रगतको आहालमा डुबिरहेको देखे । उनले प्रहरी र परिवारलाई खबर गरे । त्यसपछि अनुसन्धान शुरु भयो ।

यसरी भयो घटना

काठमाडौं बुढानिलकण्ठस्थित तौलुङ । साउन १२ गते बिहीबार । घरमा एक्लै रहेकी ५६ वर्षीया पार्वती ढकालमाथि भयो क्रुर आक्रमण र निर्मम तरिकाले उनी मारिइन् । धनमालसमेत लुटियो ।

महाराजगन्जस्थित पार्वतीकी छोरी गिताको अफिसमा बालाजुका ३० वर्षीय सुदामा लामिछाने काम खोज्दै आइपुगे । आफ्नो मावली पनि लामिछाने भएको र आफन्तले नै ल्याएर चिनाएकाले गीताले सुदामालाई आफ्नै घरमा काम गर्न प्रस्ताव गरिन् । सुदामाले सजिलै स्वीकारे । छोरीले लामिछाने थरकै घरेलु सहयोगी ल्याइन् भनेर आमा पार्वती ढकाल पनि दंग परिन् । घरमा काम गर्ने भए पनि पार्वती सुदामालाई असाध्यै माया गर्थिन् । जेठ २४ गतेबाट गीताको घरमा सुदामाले काम गर्न थालेका थिए ।

सुदामा साउन १२ गते सहयोगीको माइक्रोबसमा नारायणथान पुगे । केही वरै माइक्रोबस राखेर पार्वतीको घर पुगे । पार्वतीले ढोका खोलिदिइन् । सुदामा आफैँँ चिया पकाउन किचेन छिरे । पार्वती माथिल्लो तलामा गइन् । जब उनी तल ओर्लिएर कुर्सीमा बसेकी मात्रै के थिइन्, पछाडिबाट टाउकोमा हमर प्रहार भयो । उनी चिच्याउन खोजेपछि एक जनाले मुख थुने र अर्कोले लगातार प्रहार गरे । पार्वती अचेत भएपछि सुदामाले माथि गएर सुन तथा अन्य गरगहना र पैसा लिएर निस्किए ।

हत्यापछि उनीहरुले दराज फोडेर १८ तोला सुन र चार क्यारेट हीरा लुटेर लगेका छन् । १८ तोला सुन र ४ क्यारेट हीरा चोरी । पार्वतीकी छोरी गीता काठमाडौंस्थित गोंगबुमा रियान ट्राभल एन्ड टुर्स चलाउँछिन । आमा, छोरा र गीता तीनजना मात्र बस्थे घरमा । हत्याताका रियानको स्कुलमा परीक्षा चलिरहेको थियो । साढे १२ बजेतिर सकिन्थ्यो परीक्षा र रियान १ बजेसम्म त घर पुगिसक्थे । तर त्यसदिन स्कुलको गाडी बिग्रिएछ । अर्को गाडी मगाउँदा २ बज्यो र अपराधीको आक्रमणबाट पनि रियान बचे ।

गीताका अनुसार, फूलको बास्केटमा दराजको चाबी राखिन्थ्यो घरमा । यसको जानकारी थोरैलाई मात्र थाहा छ । फूलको बासकेट पनि चलाएको पाइएकाले चिनेकै मान्छेले आमाको हत्या गरेर धन लुटेको शंका छ गीतालाई । गीताले घर रेखदेखका लागि सेक्युरिटी कम्पनीकै गार्डसमेत राख्ने गरेकी थिइन् । घरमा १५ दिनअघिसम्म गार्ड थियो । गार्ड नभएका बेला घटना भयो ।

कसरी भयो अनुसन्धान

पार्वतीको हत्यालाई प्रहरीले समेत एकदमै रहस्य मानेको छ । हत्यामा नजिककै मान्छे संलग्न रहेको आंशकामा प्रहरीले सुदामालाई शंकाको घेरामा राखेर अनुसन्धान अघि बढायो । हत्यापछि अनुसन्धानमा खासै प्रगति गर्न नसकेको प्रहरीलाई कपिलबस्तुबाट फोन आयो । महानगरीय अपराध महाशाखाले खोजेको हुलिया ठ्याक्कै मिल्ने मान्छे भेटियो । अनि सुरु भो अनुसन्धान । काठमाडौ प्रहरीले सुदामालाई भदौ १ गते पक्राउ गरेको हो । मधेसी भेषमा नेपालबाट भाग्न लाग्दा प्रहरीले उनलाई सीमा क्षेत्रबाट पक्रियो । हत्यापछि घरमा भएको सुन तथा नगद गरी २० लाख रुपैयाँभन्दा बढीको लुटपाट भएको थियो ।

अनुसन्धानमा सुदामा एक सहयोगीसहित गीताको घर पुगेको देखिएको छ । पक्राउ परेलगतै सुदामाले पैसाका लागि पार्वतीको टाउकोमा हम्मरले हानेर हत्या गरेको प्रहरीसँग स्वीकार गरे । आफ्नै घरमा काम गर्ने ३० वर्षीय सुदामा लामिछाने पक्राउ परेपछि गीता अचम्ममा परिन् । प्रहरीसँगको प्रारम्भिक बयानमा सुदामाले घटनाको केही दिनअघि मात्र लुटपाट योजना बनाएको बताएका छन् ।

सुदामाले त्यसअघि विदेश जान पार्वतीसँग पैसा माग्ने गरेका थिए । सुदामा बाल यौनदुराचार मुद्दामा यसअघि आठवर्ष जेल बसेको अर्को आपराधिक रहस्य पनि खुल्यो । थर मिलेर मख्ख परेकी गीताले यिनैको भर पर्दा आमा गुमाएकी छन् । सम्पत्ति लुटाएकी छन् । सुदामा भने २०६४ देखि २०७१ सम्म जेल बसेका व्यक्ति रहेछन् । प्रहरी घटनाको नजिक पुगिसकेको छ । केहीदिनमै पार्वती ढकाल हत्याकाण्डबारे यथार्थ बाहिर ल्याउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्