Logo

संचारमन्त्रीको छड्केमा परे गोरखापत्रका अध्यक्ष


काठमाडौं : संचारमन्त्री मोहनबहादुर बस्नेतले गोरखापत्र संस्थानमा आइतबार छड्के चेक गरेका छन् । सरकारी संचारमाध्यममा कर्मचारीहरु समयमा उपस्थित नहुने गुनासो आएपछि उनले छड्के गरेका हुन् । छड्केमा संस्थानका अध्यक्ष गोविन्द पोखरेल पनि परेका छन् । छड्केमा परेका पोखरेललाई समेत संचारमन्त्री बस्नेतले कारवाही गर्ने भएका छन् ।

कार्यालयमा समयमै उपस्थित नभएको कारण देखाउँदै अध्यक्ष पोखरेलसहित संस्थानका माथिल्लो ओहोदाका कर्मचारीहरुलाई कारबाही गर्न लागेका हुन् । समयमा कार्यालयमा हाजिर नहुने गुनासो आएपछि मन्त्री बस्नेतले आइतबार विहान कार्यालय खुल्ने समयमा गोरखापत्र संस्थान र नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयको अनुगमन गरेका थिए ।

मन्त्री बस्नेत आइतबार विहान सवा १० बजे अनुगमनका लागि गोरखापत्र संस्थान पुगेका थिए । त्यहाँ संस्थानका अध्यक्षसहित माथिल्लो ओहोदाका कर्मचारीको कार्यालय ताला लगाइरहेको अवस्थामा भेटिएकाले उनीहरुलाई कारबाही गर्नुपर्ने अवस्था आएको पनि मन्त्री बस्नेतले बताए ।

उनले गोरखापत्र संस्थानका व्यवस्थापनका अधिकांश कर्मचारीहरु समयमा कार्यालय नआएपछि उनीहरुलाई कारबाही गर्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरुसँग सोधपुछ भइरहेको पनि उल्लेख गरे ।

मन्त्री बस्नेतले गोरखापत्र संस्थानको अनुगमन सकेलगत्तै नेपाल दूरसंचार प्राधिकरणको पनि अनुगमन गरेका थिए । अनुगमनका क्रममा ४३ जना कर्मचारीमात्रै उपस्थित भएको पाइएको मन्त्री बस्नेतले बताए । प्राधिकरणको केन्द्रीय कार्यालयमा ५८ जनाको दरबन्दी छ । मन्त्री बस्नेतले विहान ११ बजेसम्म ४३ जनाको मात्रै उपस्थित देखिएकाले अनुपस्थित हुने कर्मचारीलाई पनि कारबाही गर्ने चेतावनी दिए ।

मन्त्री बस्नेतले सेवाग्राहीलाई समयमै सेवा उपलब्ध गराउन सकियोस् भन्ने उद्देश्यका साथ आफूले अनुगमन गरेको पनि बताए । उनले जनशक्ति हुँदाहुँदै पनि समयमै काम हुन नसक्नुमा माथिल्लो ओहोदाका कर्मचारीहरु जिम्मेवार नदेखिएको पनि अनुगमनको क्रममा पाइएको पनि उल्लेख गरे । मन्त्री बस्नेतले अब आफू मातहतका सबै निकायमा अनुगमन गरी समयमा काम नभएको पाइए कारबाही गर्न आफू लागि पर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्