भारतसँग हारेपछि नेपालको च्याम्पियन बन्ने सपना अधुरै
प्रकाशित मिति : 27 August, 2017

काठमाडौं : साफ यू १५ च्याम्पियनसिपको उपाधी भारतले जितेको छ । काठमाडौंमा आइतबार भएको फाइनल खेलमा नेपाललाई २-१ ले पराजित गर्दै भारतले उपाधी जितेको हो ।
प्रतिस्पर्धामा ४१ औं मिनेटमा नेपालले अग्रता लिएको थियो । भारतीय डिफेण्डरले रञ्जन पुनलाई डिबक्सभित्र फल गरेपछि रेफ्रीले दिएको पेनाल्टीको अवसरलाई स्ट्राइकर ब्रिजेश चौधरीले पेनाल्टीलाई सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा भारतलाई दवावमा राखेको नेपालले सोही लय दोस्रो हाफमा कायम राख्न सकेन । शारीरिक रुपमा बलिया भारतीय खेलाडीसामू नेपाली खेलाडीहरु कमजोर देखिएका थिए ।
भारत५९औं मिनेटमा लालरोकिमाले गोल गरेपछि खेल बराबरीमा आएको थियो भने ७५औं मिनेटमा भारतले अग्रता लियो । भारतका बिक्रा प्रताप सिंहले उत्कृष्ट गोल गरेका थिए ।
नेपालले समूह चरणमा पनि भारतसँग २-१ कै पराजय व्यहोरेको थियो ।
सेमीफाइनलमा नेपालले बंगलादेशलाई ४-२ र भारतले भुटानलाई ३-० ले हराउँदै उपाधि भिडन्ड तय गरेका थिए ।