Logo

निर्वाचन क्षेत्र ४९५ हुने, कहाँ कति निर्वाचन क्षेत्र ?


काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि चार सय ९५ वटा निर्वाचन क्षेत्र बन्ने भएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन संख्या निर्धारण गरेर नक्सासहितको प्रतिवेदन बुझाउने तयारीमा लागेको हो ।

‘प्रतिनिसिभाका १६५ र प्रदेशसभाका ३३० गरी जम्मा ४९५ निर्वाचन क्षेत्र निर्धारण भएका छन्’, आयोगका प्रवक्ता बगेन्द्रराज पौडेलले भने ‘कार्य पुरा भएपछि प्रतिवेदन बुझाउने समय तय गरिनेछ, समयभित्र काम सकिएको र नक्सा बनेपछि ढिलोमा मंगलबारसम्म प्रतिवेदन बुझाइने छ ।’

निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य आधार बनाइएको छ । तर, एउटा जिल्लामा एउटा क्षेत्र नघट्ने गरी भूगोललाई पनि आधार बनाइएको छ । आयोगलाई निर्वाचन क्षेत्र निर्धारणका लागि भदौ १४ सम्मको समय तोकिएको थियो ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ निर्वाचन क्षेत्र यथावत राखेर प्रदेशसभामा उपत्यकाभित्रबाट ३० क्षेत्र तय गरिएको छ । पछिल्लो समय थपिएका दुई जिल्ला रुकुम र नवलपरासीको आधा भागलाई एउटा जिल्ला मानेर प्रतिनिधिसभाको निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।

नयाँ निर्धारण भएका निर्वाचन क्षेत्रहरु तराई तथा शहरी क्षेत्रका जिल्लामा दुई भन्दा बढी छन् । अधिकांश पहाडी र हिमाली जिल्लाहरु एउटा क्षेत्रमा सीमित भएको छ ।

तराईमा सबैभन्दा कम बर्दियामा दुई वटामात्रै निर्वाचन क्षेत्र हुनेछन् । हाल २ वटा निर्वाचन क्षेत्र रहेका पहाडी जिल्लाहरुमध्ये अछाम र दैलेखबाहेक सबै जिल्लाहरु एक एकवटा क्षेत्रमा सीमित भएका छन् । ती जिल्लाबाट प्रतिनिधिसभामा एक र प्रदेश सभामा दुई सांसद निर्वाचित हुनेछन् ।

कुन प्रदेशमा कति निर्वाचन क्षेत्र

प्रदेश नम्बर १ मा       :  २८
प्रदेश नम्बर २ मा       :  ३२
प्रदेश नम्बर ३ मा       :  ३३
प्रदेश नम्बर ४ मा       :  १८
प्रदेश नम्बर ५ मा       :  २६
प्रदेश नम्बर ६ मा       :  १२
प्रदेश नम्बर ७ मा       :  १६

प्रतिक्रिया दिनुहोस्