पदाधिकारीकै माग किन प्रेस युनियनको केन्द्रिय समिति भंग गर्न
प्रकाशित मिति : 30 August, 2017

काठमाण्डौ । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको वर्तमान केन्द्रिय समिति भंग गर्न युनियनकै एक पदाधिकारीले माग गरेका छन् ।
२०७१ भदौमा सम्पन्न युनियनको आठौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रिय समितिको कार्यकाल सकिनै लाग्दा समितिले आफ्नो कार्यकालको म्याद एक बर्ष थप गरेको भन्दै युनियनका बागमती क्षेत्र संयोजक रमेश खतिवडाले सोमबार पार्टी सभापति शेरबहादुर देउबा समक्ष तत्काल समिति बिघठन गर्दै महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन् ।
२०७१ भदौ २१ र २२ गते पोखरामा सम्पन्न महाधिवेशनबाट चुनिएको युनियनको वर्तमान केन्द्रिय समितिको कार्यकाल १० दिन पछि सकिदैछ ।
खतिवडाले पार्टी सभापति एवं प्रधानमन्त्री देउबालाई दिएको निवेदनमा समितिको म्याद सकिनै लाग्दा समेत जिल्ला अधिवेशन शुरु गराउन नसकेको, संघिय संरचना अनुसारको संगठन बिधान तयार गर्नका लागी बिधान सभा बोलाउने निर्णय पटक पटक गर्दा समेत अध्यक्ष बद्री सिग्देल र बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले रोकेको साथै जिल्लाका अध्यक्ष र केन्द्रिय समितिका सदस्यहरु संग परामर्श समेत नगरी एकलौटी रुपमा केन्द्रिय समितिको म्याद एक बर्ष थप गरेको आरोप लगाएका छन् । यस्तै केन्द्रिय अध्यक्ष सिग्देल र आचार्यले संगठन भित्र गुटबन्दी गरेको आरोप खतिवडाको छ ।
उनले तत्काल केन्द्रिय समिति भंग गर्दै म्याद थप गर्ने निर्णय फिर्ता लिएर महाधिवेशनको मिति तोक्न र महाधिवेशन आयोजक समिति गठन गर्न माग गरेका छन् ।