Logo

सुन्दर र समुन्नत वीरगञ्ज शहर बनाउन उम्मेदवारलाई चुनौति


वीरगञ्ज । आर्थिक नगरी वीरगञ्ज किन र कसरी जीर्ण, जर्जर बन्दै गइरहेको छ । एउटा सुन्दर र समुन्नत वीरगञ्जको कल्पना गर्ने पछिल्लो पुस्तामात्र होइन यसको आर्थिक महत्व बुझेको अघिल्लो पुस्ता पनि वीरगञ्जको खस्कँदो स्थितिप्रति के गर्न सक्छ । वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति कस्ता दूरदृष्टि छन् । त्यो मतदाताको यक्ष प्रश्न रहेको छ ।
वीरगञ्ज मृत शहर बन्दै गएको अनुभूतिबीच भइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख पदका उम्मेदवारसँग यसका उत्प्रेरक सकारात्मक पक्ष के–के छन् । यही विषयको उत्तर खोज्न रिपोर्टर्स क्लब पर्साले प्रदेश नं २ को स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखको उम्मेदवारसँग मतदातासमक्ष उभ्याएर उत्तर खोज्ने प्रत्यत्न शनिबार गरेको थियो ।
मुलुकको लाइफलाइनका रुपमा रहेको आर्थिक नगरी वीरगञ्जको समग्र विकासप्रति आफ्नो प्रतिबद्धता जनाउँदै नेपाली काँग्रेसबाट महानगर प्रमुखका उम्मेदवार बन्नुभएका अजय द्विवेदीले नेपालको गेटवेका रुपमा रहेको वीरगञ्जको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताउनु भयो । पाँच वर्षसम्म वीरगञ्ज नगरपालिकाको उपप्रमुख भइसकेका द्विवेदीसँग समृद्ध वीरगञ्ज बनाउने योजना भने धेरै छन् । उहाँले गाउँलाई वीरगञ्ज शहरसम्म जोड्न सडक विकास, घर घरसम्म पुग्ने मोबाइल अस्पताल, दलित तथा महिलाको समग्र विकास, वीरगञ्जलाई सुविधायुक्त शहर बनाउन, जलनिकासको स्थायी उपाय अवलम्बन गर्न, उद्योगी व्यापारीलाई सुरक्षाको प्रत्याभूति दिन आफूले प्रमुखमा उम्मेदवारी दिएको मतदातासमक्ष अठोट गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्