Logo

भेनेजुयलामा सहयोग गर्न राष्ट्रसङ्घलाई पोपको आग्रह


एजेन्सी । पोप फ्रान्सिसले भेनेजुयलाको मरणासन्न आर्थिक, राजनीतिक तथा सामाजिक सङ्कट समाधानका लागि सोमबार संयुक्त राष्ट्रसङ्घलाई आग्रह गर्नुभएको छ ।
“मानवीयता सम्बन्धि समस्या अत्यन्त पीडादायक छ, त्यसबाट त्यहाँ धेरै जनता पीडित भएका छन्,” कोलम्बियाको पाँच दिने भ्रमण सकेर फर्किएपछि उहाँले पत्रकारहरुसँग सोमबार भन्नुभयो ।
उहाँले थप्नुभयो, “यो मानवीयता सम्वन्धि समस्या हो, यसलाई तत्काल सम्बोधन गर्न आवश्यक छ, राष्ट्रसङ्घले यो आँफै सुन्नेछ र सहयोग गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
भेनेजुयालको गम्भीर संकट अन्त्य गरी शान्ति स्थापनाका लागि धर्मगुरु फ्रान्सीसले आइतबार विशेष प्रार्थना आयोजना गर्नुभएको थियो । भेनेजुयलामा खाना र औषधीको अभाव समेत भएकोप्रति उहाँले ध्यानाकर्षण गराउनु भएको छ ।
गत अप्रिल देखि सुरु भएको सरकार विरोधी प्रदर्शनका क्रममा जुलाई सम्ममा १२५ जनाको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी राष्ट्र भेनेजुयलाका सभामुखले गरिब जनताका लागि खाना लगायतका सहयोग पु¥याउने व्यवस्थाका लागि राष्ट्रपति निकोलस मदुरोलाई आग्रह गरिदिन पोपलाई अनुरोध गर्नुभएको थियो ।
भेनेजुयलामा एक महिना सम्म भएको आन्दोलनका क्रममा सरकारी पक्ष र आन्दोलनकारी पक्षका बीचमा सहमति गराउन भ्याटिकनले मध्यस्थता सहितको प्रयास गरेको थियो ।
“मलाई थाहा छैन मदुरोले के सोचिरहनु भएको छ, उहाँले अव के गर्न गइरहनु भएको छ मलाई थाहा छैन,” फ्रान्सिसले पत्रकारहरूसँग भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्