Logo

मधेशमा कांग्रेसलाई पहिलो बनाउन डा. शेखर सक्रिय !


काठमाडौं । नेपाली कांग्रेसभित्र कोइराला परिवारको अलग्गै पहिचान छ । जब कांग्रेसभित्र कोइराला परिवार सजग बन्छ, तब कांग्रेसले सकरात्मक परिणाम हात पार्छ । गिरिजाप्रसाद कोइरालाको निधन भएपछि अलमलमा परेका कांग्रेस पछिल्लो समय रणभुल्लमै परेको छ । निर्वाचनका समयमा भएका अदृश्य खेल र टिकट वितरणमा गरिएको मनपरीले कांग्रेसका हजारौं कार्यकर्तालाई निराश बनाएको छ । तिनै निराश कार्यकर्तामा ऊर्जा भर्न यतिबेला कोइराला परिवार सक्रिय बनेको छ ।
केही समयअघि देखि एकताको सन्देश दिइरहेका कांग्रेस महामन्त्री डा. शशांक कोइराला , नेता डा. शेखर कोइराला र नेतृ सुजाता कोइराला २ नम्बर प्रदेशका कार्यकर्ताको हौसला बढाउन फिल्डमै खटिएका छन् । सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण निष्ठावान् कार्यकर्तामा निराशा छाएको निष्कर्षसहित कोइराला परिवारको एकतालाई पुनर्जीवन दिने अभियानका सुत्राधार थिए  । डा. शेखर कोइराला । उनै शेखर कोइराला अहिले मधेशमा कांग्रेस जोगाउन अहोरात्र खटिएका छन् ।
पार्टीभित्र अनेक षड्यन्त्र र बहानाबाजी चलिरहँदा विराटनगर महानगरपालिकामा भिम पराजुलीलाई टिकट दिलाएर निर्वाचन जिताउन मुख्य भूमिका खेलेका शेखर अहिले २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह केन्द्रीत अभियानमा छन् । मधेशको उग्र गर्मीको परवाह नगरी कहिले पैदल त कहिले साइकलमा घरदैलो गरिरहेका शेखरमा मधेशले कांग्रेसको साख जोगिनेमा विश्वस्त छन् ।

टिकट नपाएर असन्तुष्ट बनेका नेता कार्यकर्तालाई सम्झाउने र पार्टीले दिएका आधिकारीक उम्मेदवारलाई जिताउने अभियानमा शेखर लागेका हुन् । उनले पार्टी नेतृत्वले अन्याय गरेपनि न्यायको जित भएरै छाड्ने भन्दै निर्वाचनमा कांग्रेसलाई कमजोर पार्न नहुनेमा जोड दिदैं आएका छन् । नियमित जसो २ नम्बर प्रदेशका गाउँ नगरमा हुने कार्यकर्ता भेला र सभामा सहभागि हुँदै आएका शेखर पुराना र निष्ठावान कार्यकर्ताको हौसला बढाउन केन्द्रीत रहेका छन् ।


विगतमा कांग्रेसभित्र कांग्रेस खोज्दै देश दौडाहा गरेका शेखरको क्रियाशीलताबाट अधिकांश कार्यकर्ताहरु उत्साहित छन् । ‘उहाँले इमान्दारिताका साथ कांग्रेस बलियो बनाउने अभियान थाल्नुभएको छ । निराश कार्यकर्तामा पनि उत्साह भरेर शेखरदाईले हामीलाई हौसला दिनुभएको छ ।’, नेपाली कांग्रेस महोत्तरीका एक नेताले विकास टाइम्ससंग भने ।

प्रतिक्रिया दिनुहोस्