रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको पुष्टि

रुसी सेनामा रहेका ६ जना नेपालीको मृत्यु भएको पुष्टि


काठमाडौं ।

नेपालले रूस-युक्रेन युद्धमा मारिएका ६ जना नेपालीको शव पठाउन रूस सरकारसँग अनुरोध गरेको छ ।

सोमबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर मृतकको शव नेपाल पठाउन र पीडित परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गरेको जनाएको छ ।

यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो । तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।

मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, कास्की पोखराका देवान राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की, मेलुङ गाउँपालिका–६ दोलखाका राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तान रहेको मन्त्रालयले जनाएको छ ।

नेपालले रुसी सेनामा नेपाली नागरिकलाई भर्ना नलिन रुसलाई आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रुसी सरकारलाई अनुरोध गरिएको छ ।’

साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरुको राष्ट्रिय सेनामा नेपाली नागरिकहरु भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति नरहेको उल्लेख गरेको छ ।

रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्रीलाई नेपाल फिर्ता गर्न कूटनीतिक पहल भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरुलाई रुस यात्रा गर्नु परेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई मन्त्रालयले अनुरोध गरेको छ ।