काम नगरिदिएको झोकमा वडाध्यक्षलाई घरभित्र थुनेर आगो लगाउने यूवक पक्राउ

काम नगरिदिएको झोकमा वडाध्यक्षलाई घरभित्र थुनेर आगो लगाउने यूवक पक्राउ


धनकुटा ।

आफूले भनेको काम नगरिदिएको झोंकमा स्थानीय एक युवाले धनकुटाको पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाईंको घरमा आगजनी गरेको प्रहरीले जनाएको छ।

सोमबार बिहान १२ः४८ बजेतिर वडाध्यक्षको परिवारले घरमा आगो लागेको थाहा पाएको थियो। लगत्तै गाउँलेको सहयोगमा आगो निभाएको थियो।

धनकुटा प्रहरीले सोही ठाउँका २० वर्षका सुशील अधिकारीलाई नियन्त्रणमा लिएको थियो।

‘हामीले शंका लागेर नियन्त्रणमा लिएका तिनै युवाले आगजनी गरेको स्वीकार गरेका छन्’, धनकुटा प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले भने।

आफूले भनेको काम वडाध्यक्षले नगरेको रिस पोख्न त्यसो गरेको उनको भनाइ छ।

कोइरालाले परिवारलाई घरभित्रै थुनेर ज्यानै लिने नियतले आगजनी गरेको भने नदेखिएको पनि बताए।

‘परिवारका सदस्य माथिल्लो तलामा थिए, ताला तलको तलामा थियो’, एसपी कोइरालाले भने, ‘रिस फेर्न आगो लागाएको देखिन्छ।’

अधिकारीलाई आज म्याद थपेर थप अनुसन्धान गरिने उनले जानकारी दिए।

पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन्।