Logo

संविधान जारी भएको दुई वर्ष पूरा


काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको आज दुई वर्ष पूरा भएको छ । संविधान जारी भएको दिनलाई विशेष उत्सवका रुपमा आज विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।

सरकारले संविधान जारी भएको दुई वर्ष पुगेको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गरी सरकारले राष्ट्रिय उत्सव मनाउँदै छ । सैनिक मञ्च टुँडिखेलमा विहान संविधान दिवस मुल समारोह समितिको आयोजनामा हुन लागेको विशेष समारोहमा काठमाडौं, ललितपुर र भक्तपुका शिक्षण संस्थाका शिक्षक र विद्यार्थीलाई ब्यानरसहित उपस्थित हुन पनि शिक्षा विभागले निर्देशन दिएको छ ।

असोज ३ गते संविधान जारी भएको उपलक्ष्यमा सरकारले असोज २, ३ र ४ गते तीन दिन उत्सव मनाउने निर्णय गर्नुका साथै आज सार्वजनिक विदासमेत दिइएको छ । संविधान दिवसकै सन्दर्भमा शिक्षा मन्त्रालयले तीन दिन विभिन्न कार्यक्रम गरी संविधान उत्सव मनाउन नेपालका संविधानको विविध विषय र यसको कार्यान्वयन विषयक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सञ्चालन गर्न पाँच वटै क्षेत्रीय शिक्षा निर्देशनालय र ७५ वटै जिल्लालाई निर्देशन दिएको थियो ।

यता, मधेसवादी दलहरु तथा केही आदिवासी जनजाती संघ संस्थाले भने संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने तयारी गरेको छ । तराई मधेस राष्ट्रिय परिषद्ले आज तराईका जिल्लाहरुका साथै काठमाडौंको माइतीघर मण्डलामा कालो दिवस मनाउने तयारी गरेको छ । संविधान जारी भएको दुई वर्षको अवधिमा एक पटक संविधान संशोधन गरिसकिएको छ भने दोस्रो संसोधन विधेयक संसदबाट अस्वीकृत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्