तिनाउमा मृत भेटिएका २ पुरुषको पहिचान भएन, प्रहरीले गर्‍याे हुलिया सार्वजनिक

तिनाउमा मृत भेटिएका २ पुरुषको पहिचान भएन, प्रहरीले गर्‍याे हुलिया सार्वजनिक


पाल्पा ।

पाल्पाको तिनाउ गाउँपालिकामा मृत भेटिएका दुई पुरुषको पहिचान खुल्न नसकेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले हुलिया सार्वजनिक गरेको छ । यही मङ्सिर १४ गते जिल्लाको तिनाउ गाउँपालिका–५ चर्चरे स्थित सिद्धार्थ राजमार्गको छेउमा अन्दाजी २०–२२ वर्षीय युवाको शव फेला परेको थियो ।

उक्त युवाको हुलिया सार्वजनिक गर्दै प्रहरीले उचाइ ५ फिट ३ इन्च, बायाँ हातको नाडीमा घडी र आँखाको ट्याटु, शरीरमा खैरो रङको ज्याकेट (वीनचिटर),हरियो रङको स्विटर, कालो रङको ट्राउजर र कलेजी रङको टिसर्टसहित शव फेला परेको जनाएको छ । यसै गरी बैजनी रङको गलबन्दी र सेतो सोलमा खैरो रङको कन्भर्स जुत्ता लगाएको हुलिया सार्वजनिक गरेको छ ।

यसै गरी तिनाउकै वडा नम्बर ३ तल्लो सिद्ध बाबा नजिकै मङ्सिर १९ गते मङ्गलवार मृत फेला परेका पुरुषको समेत प्रहरीले हुलिया सार्वजनिक गरेको छ । उचाइ ४ फिट ९ इन्च, टाउको र घाँटीमा पहेँलोमा रातो रङ्गको ओम नमःसिवाय श्रीराम लेखेको ३ वटा सल भिरेको, खैरो रङ्गमा कालो बुट्टे स्विटर, खैरो रङ्गको टिसर्ट, कालोमा सेतो धर्का भएको हाफ पाइन्ट, कालो फित्तावाला चप्पल लगाएको, पछाडि बोक्ने २ वटा झोला बोकेको, रुद्राक्ष माला लगाएको, वर्ण गहुँ गोरो, मंगोलीयन अनुहार भएको तथा दाह्री जुँगा पालेको हुलिया सार्वजनिक गरेको छ ।

ती पुरुषको उमेर अन्दाजी ५०-५५ वर्ष भएको प्रहरीले अनुमान गरेको छ । जिल्ला प्रहरी कार्यालय पाल्पा डी एसपी सुगन्ध श्रेष्ठले सोधपुछ चलिरहेको तर अझै परिचाहन खुल्न नसकेको रातोपाटीलाई बताए ।