९ वर्षीया बालिकालाई घरमै गएर कुटेका शिक्षकले स्कुलमा लगेर पनि कुटे

९ वर्षीया बालिकालाई घरमै गएर कुटेका शिक्षकले स्कुलमा लगेर पनि कुटे


नवलपरासी ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् ।

शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्, भने विद्यालयमा तालाबन्दी गरेका छन् ।

कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेपछि बालिकाको शरीरमा रातो डाम (धब्बा) बसेको छ ।

बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तिले प्रहार गरेको अभिभावकले बताएका छन् ।

घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडाध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दे आएको स्थानीयले बताएका छन् ।

स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको बताएका छन् ।

पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकी छन् । उनी हिँड्न पनि नसक्ने अवस्थामा घर आएपछि बल्ल थाहा पाएको अभिभावकको भनाइ रहेको छ ।