Logo

गौचनको गुण्डासंग यस्तो थियो सम्बन्ध


काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको अज्ञात समूहले सोमबार अपारन्ह गोली हानी हत्या गर्यो । उच्च सुरक्षा सतर्कता रहने नयाँबानेश्वरस्थित संसद् भवनदेखि करिब ३ सय मिटरको दूरीमा रहेको प्रयाग चोक शान्तिनगरमा उनीमाथि गोली हानियो । यो हत्याकाण्डले निर्माण व्यवसायी मात्रै होइन, अन्य गर्ने व्यवसायी र सर्वसाधारणसमेत त्रसित बने ।

‘क’ वर्गका निर्माण व्यवसायी गौचनको कम्पनी हो, डाँफे कन्स्ट्रक्सन कम्पनी प्राइभेट लिमिटेड । नयाँ बानेश्वरमा कार्यालय रहेको डाँफे कन्स्ट्रक्सनका अध्यक्ष तथा सञ्चालक हुन् गौचन । २०३९ सालमै कास्कीमा स्थापना गरेर २०५६ सालदेखि काठमाडौँबाटै सञ्चालनमा रहेको कम्पनी हो डाँफे कन्स्ट्रक्सन । विभिन्न व्यक्तिको प्रत्यक्ष–अप्रत्यक्ष लगानीमा गौचनले यो कम्पनी चलाइरहेका थिए ।

गौचनको कम्पनीमा २ वर्षअघि प्रहरीबाट ‘इन्काउन्टर’ गरिएका गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ कुमार घैँटेको पनि लगानी थियो । डाँफे कन्स्ट्रक्सनमा गौचन र घैंटेको लगानी थियो । यद्यपि कम्पनी रजिष्टारको कार्यालयमाा रहेको लगतमा दोस्रो र तेस्रो व्यक्तिको नाम भेटिएन ।

जब प्रहरीले गुण्डा नाइके घैंटेको इन्काउन्टर ग¥यो, त्यसपछि कम्पनीमा प्रहरी र उनका आफन्तले पनि उनको सेयर खोजी सुरु भयो । त्यो सेयरको हिस्सा आफूले पाउनुपर्ने भन्दै घैंटेका मितसमेत रहेका अर्का गुण्डा नाइके समिरमान बस्नेत अगाडि देखा परे । उनले पटकपटक गौचनलाई भेटेर घैंटेको सेयरवापतको रकम माग गरे ।

यद्यपि गौचनले घैंटेको सेयरवापतको पैसा समिरमानलाई दिएनन् । यही विषयमा बस्नेतका सहयोगीले डेढ महिनाअघि गौचनलाई धम्की दिँदै पैसा नदिए ठीक पारिदिने धम्की दिएका थिए । र, त्यही धम्कीको केही समयपछि गौचनको हत्या भएको छ । हत्यामा आफ्नो संलग्नता रहेको भन्दै समिरमान बस्नेतनिकट लोप्साङ लामाले पत्रकारलाई फोन गरेर जिम्मेवारी पनि लिएका छन् । उनले भनेका छन्, ‘शरद गौचनको हत्या हामीले गरेका हौँ, म समिरमानको मान्छे लोप्साङ लामा हो ।’

प्रहरीले गौचन हत्याकाण्डको अनुसनधान मुख्यतः तीन पाटोबाट सुरु गरेको छ, ठेक्कापट्टा, लगानीको हिस्सा र बाटो खुला । यद्यपि पहिलो र दरिलो आधार भने घैंटे समूहको लगानी र रकम फिर्ता नपाएका कारण हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यदि घैंटेकै लगानीको विषयलाई लिएर गौचनको हत्या भएको हो भने हत्याराको अर्को टार्गेट को हुन् त ? घैंटे र गौचनका पार्टनर भनिएका कांग्रेस नेता कतै अपराधीको निशानामा त छैनन् ? सुरक्षा संयन्त्रलाई सुराक र चुनौती दुवै ।

प्रहरीको छानबिन समिति फेरियो

नेपाल प्रहरीले गौचन हत्याकाण्डको छानबिनका लागि बनेको समितिका संयोजक एकै दिनमा फेरेको छ । हत्या भएको दिन सोमबार वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य रहेको समिति प्रहरी प्रधान कार्यालयले बनाएको थियो ।

तर छानबिन समिति विस्तार गरेको बताउँदै प्रहरी प्रधान कार्यालयले डिआईजीको संयोवजकत्वमा अर्को छानबिन समिति मंगलबार बनाएको छ । डीआईजी गणेश केसीको संयोजकत्वमा मंगलबार सात सदस्यीय नयाँ समिति बनाइएको छ । सोमबारका संयोजक बस्नेत सदस्य झरेका छन् भने मंगलबारको छानबिन समितिमा महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई थपिएको छ ।

सोमबारबाटै यो घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसरको टोली पनि केन्द्रित छ । तर, मंगलबार बनेको समितिको नेतृत्वमा अब ती सबै युनिट परिचालित हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

छानबिनको दायरामा अन्य गुण्डा समूह पनि

प्रहरीले गौचनको हत्या लगत्तै गुण्डाहरुका दुईवटा समूहमाथि अनुसन्धान सोझ्याएको थियो । तर, गौचनको हत्यामा कुमार घैंटेका मित भनिएका समिरमान बस्नेत समूहको संलग्नतातर्फ प्रहरी बढी केन्द्रित भएको छ ।

प्रहरी स्रोतका अनुसार अनुसन्धानको तीर गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेलको समूह र बुटवल केन्द्रित अर्का गुण्डा नाइके मनोज पुन समूहमाथि पनि केन्द्रित गरिएको छ ।

प्रहरी स्रोतका अनुसार ठेकेदार तथा व्यापारीहरुबाट करोडौँको मात्रामा रकम असुल्दै आएको बाहुनको समूहले तीन दिनअघि मात्रै गौचनमाथि हातपात गरेका थिए । प्रहरी स्रोतले बाहुनको समूहका गुण्डाहरुले मागेजति पैसा नदिएको भन्दै गौचनलाई कुटपिट गरेको तथ्य सार्वजनिक गरेको छ ।

रमेश बाहनुको समूहले निर्माण व्यवसायीहरुबाट लामो समयदेखि अवैध रकम असुल्दै आएको थियो । यही समूहले दुई वर्षअघि ललितपुरका कांग्रेस कार्यकर्ता मिनकृष्ण महर्जनलाई गोली हानेको थियो ।

यो समूहका नाइके भनिएका रमेश बाहुन भने लागूऔषध मुद्दामा अहिले कारागारमा सजाय काटिरहेका छन् । बाहुन कारागारमा रहे पनि उनको समूहका सदस्यले निर्माण व्यवसायीलाई सताउने क्रम भने रोकिएको थिएन ।

मनोज पुनको समूह पनि

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएको मनोज पुनको समूहमाथि पनि प्रहरीले अनुसन्धान बढाएको छ । गत वर्ष बुटवलमा पुनकै समूहले गोली हानेर युवा संघका जिल्ला अध्यक्ष तिवारीको ज्यान लिएको थियो ।

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या यही समूहले गरेको हुन सक्ने प्राराम्भीक अनुमान पनि प्रहरीले गरेको छ । प्रहरी स्रोतले गौचनको हत्याको जिम्मेवारी समेत पुनको समूहका एक सदस्यले नेपाल बाहिरबाट फोन गरेर लिएको जानकारी दिएको छ ।

दुर्गा तिवारीको हत्या अघिसम्म नेपालमै बस्दै आएका मनोज पुन त्यसपछि भने भारतमा बस्दै आएका छन् । भारतमा बसेर पनि उनले आफ्नो गुण्डा समूहलाई चलायमान बनाइरहेको प्रहरी स्रोत बताउँछ ।

समिरमानले कुमार घैँटेको हिस्सा मागेसँगै प्रहरीले यी दुवै समूहबाट गौचनसँग करोडौँ रकम मागिएको सूचना पाएको छ । काठमाडौँका एसएपसपी रवीन्द्र धानुकलाई फोन नै गरेर मनोजको समूहका सदस्यले सोमबारै घटनाको जिम्मेवारी लिएका थिए । तर, धानुकले यसबारेमा कुनै प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो ।

अन्य ठेकेदारलाई पनि गुण्डाको धम्की

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रामशरण देउजाले अध्यक्ष गौचनको हत्यासँगै महासंघका अन्य पदाधिकारीलाई पनि अज्ञात नम्बरबाट धम्कीपूर्ण शैलीमा पैसा माग्दै टेलिफोन उनले खुलासा गरेका छन् । मार्नेसम्मको धम्की आइरहेका कारण महासंघका अन्य पदाधिकारी पनि असुरक्षित रहेको उनले जानकरी दिए ।

महासंघका अन्य पदाधिकारीको सुरक्षा प्रबन्धसहित अध्यक्ष गौचनको हत्यामा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन उनले सरकारलाई आग्रह गरे । उनले भने, ‘सरकाले हत्याराको खोजी तीव्र पारेको बताएको छ । यसको प्रतिफल छिट्टै निस्कनेमा आशाबादी छौँ ।’जनतासमाचारमा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्