Logo

को को छन मुख्यसचिवको दौडमा


काठमाडौ । आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ। साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हँदै छन्। २९ असारमा मुख्यसचिव नियुक्त क्षेत्री सेवानिवृत्त हुनुअगावै सरकारले तिहारलगत्तै ३ वर्षका लागि नयाँ मुख्यसचिव नियुक्तिको गृहकार्य थालेको छ।
३ जना वरिष्ठ सचिव मुख्यसचिवको दौडमा छन्। कार्यरत ५० जनाभन्दा धेरै सचिवमध्ये ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव लोकदर्शन रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिव बन्ने दौडमा छन्।
प्रतिस्पर्धामा रहेका सचिवले मुख्यसचिवमा आफ्नो दाबी प्रस्तुत गर्दै योग्यता र दक्षता प्रदर्शन हुने गरी कार्ययोजनासमेत बनाउन थालेका छन्। उनीहरू एकअर्कामाथि आरोप-प्रत्यारोप नगरी दाबी मात्रै प्रस्तुत गरिरहेकोलाई सकारात्मक रूपमा लिइएको छ। मुख्यसचिव सरकारको कर्मचारीतन्त्रको सबैभन्दा माथिल्लो पद हो। मुख्यसचिवका प्रमुख दावेदार मानिएका तीनै जना सचिव विभिन्न राजनीतिक नेतृत्वमार्फत आफूअनुकूल स्थिति सिर्जना गर्न दबाब दिइरहेको स्रोतले जानकारी दिएको छ।
गृहसचिव रेग्मी मुख्यसचिवको दौडमा अरूभन्दा अगाडि देखिएका छन्। उनी प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिएकाले सम्भवतस् प्रधानमन्त्रीले उनलाई नै मुख्यसचिव नियुक्त गर्ने अन्तिम तयारी गरेको उच्च स्रोतको दाबी छ। प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणासँग सिधा सम्पर्क रहेकाले पनि रेग्मी नै मुख्यसचिव हुने सम्भावना बढेको बताइन्छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवद्वय अधिकारी र उपाध्याय पनि दौडमा रेग्मीको पछाडि छन्। दुवैले मुख्यसचिव भए गर्ने कामका स्पष्ट योजना र कार्यक्रम तयार पारेर मुख्यसचिवको दौडमा आफूलाई कायमै राखेका छन्। प्रधानमन्त्री देउवासँग दुवै सचिवको सिधा सम्पर्क भने छैन। तर, दुवै जनाले विभिन्न स्रोत र विभिन्न मन्त्रीमार्फत मुख्यसचिवका लागि लबिङ जारी राखेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।
मुख्यसचिवको दौडमा अगाडि देखिएका गृहसचिव रेग्मीले आफूलाई दिइने सबै जिम्मेवारी र काम प्रतिबद्ध भई इमानदारीपूर्वक सम्पन्न गर्नु नै आफ्नो मुख्य कार्ययोजना रहेको बताए। ‘तर सरकारको निर्णय प्रभावित हुने कुनै अभिव्यक्ति र गतिविधि गर्दिनँ। निजामती कर्मचारी भएकाले आचरण र अनुशासनमा बस्नुपर्छ, म त्यही सीमाभित्र रहन चाहन्छुु, गृहसचिव रेग्मीले भने।
मुख्यसचिवका अर्का प्रतिस्पर्धी सचिव अधिकारीले मुख्यसचिव नियुक्त भए स्पष्ट कार्ययोजना नै बनाएका छन्। उनले मुख्यसचिव भए संघ, प्रदेश र स्थानीय तहको प्रशासनिक पुनस्संरचना गर्न अघि बढाइएका नीतिगत, कानुनी, संस्थागत, मानव स्रोत तथा वित्त व्यवस्थापनसँग सम्बन्धित विषयलाई यथाशीघ्र सम्बोधन गर्न समन्वय र सहजीकरण गर्दै प्रशासनिक नेतृत्वको कुशल भूमिका निर्वाह गर्नेलगायत कार्ययोजना बनाउने बताए।
अर्का दावेदार सचिव उपाध्यायले मुख्यसचिव नियुक्त भए प्रशासनको क्षमता अभिवृद्धि गर्दै पुनस्संरचना गरी सेवा प्रभावकारी बनाउने, सुशासन र विकासका माध्यमबाट समृद्धि हासिल गर्नमा सघाउन आफू हरपल प्रयासरत हुने बताए। अहिलेको चुनौतीपूर्ण संक्रमणकालको सहज व्यवस्थापन गर्न सक्दो प्रयास गर्ने उनले बताए।
मुख्यसचिवको जिम्मेवारी : मुख्यसचिव नेपाल सरकारको प्रमुख प्रशासकीय अधिकारी हो। सरकारका हरेक गतिविधिमा मुख्यसचिवले निर्णायक भूमिकासमेत खेल्न सक्छ। मुख्यसचिवले प्रधानमन्त्रीको सुपरिवेक्षण तथा निर्देशन अधीनमा रही प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासनिक प्रमुखका रूपमा कार्यसम्पादन गर्छन्। मुख्यसचिवले सबै सचिव तथा अन्य विशिष्ट श्रेणीका अधिकृतको सुपरिवेक्षकको हैसियतले उनीहरूले गरेका कामको सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिन्छन्।
प्रतिस्पर्धीमध्ये को कस्ता (समकालीन सचिवहरूका अनुसार)
१,लोकदर्शन रेग्मी : २३ वर्षको अनुभव, जनप्रशासनमा स्नातकोत्तर, बीएल, डेनमार्कको अलगोर विश्वविद्यालयमा अध्ययन
सबल पक्ष : प्रधानमन्त्री देउवानिकट, अर्थतन्त्रको ज्ञान, अध्ययनशील, थोरै बोल्ने
दुर्बल पक्ष : घमण्डी, मन्त्रीको ‘यसम्यानु, कमजोर निर्णय क्षमता, निर्णयमा नअडिने
२,शंकरप्रसाद अधिकारी : ३० वर्षको अनुभव, एमबीए, एमपीए, बीएल, नर्थह्याम्टन विश्वविद्यालयबाट एमबीए
सबल पक्ष : भद्र, विवादमा नपरेका, विदेशमा अध्ययन गरेका, मिलनसार, कुशल समन्वयकर्ता, बौद्धिक
दुर्बल पक्ष : अन्तर्मुखी, राजनीतिक नेतृत्वसँग सिधा सम्पर्क नहुनु, समूहमा काम गर्न नरुचाउने, लो प्रोफाइलमा बस्ने
३,ङइन्द्रप्रसाद उपाध्याय : ३२ वर्षको अनुभव, अर्थशास्त्रमा स्नातकोत्तर
सबल पक्ष : कूटनीतिमा दक्ष, कुशल समन्वयकर्ता, विवादमा नपरेका, अर्थशास्त्रको राम्रो ज्ञान
दुर्बल पक्ष : कमजोर निर्णय क्षमता, राजनीतिक नेतृत्वसँग सिधा सम्पर्क नहुनु, लो प्रोफाइलमा बस्ने

प्रतिक्रिया दिनुहोस्