भारतीय राजदूत आउँदा गृहमन्त्रीकाे नेतृत्वमा प्रदर्शन, राजदूतकाे फ्लाइट सारियाे

भारतीय राजदूत आउँदा गृहमन्त्रीकाे नेतृत्वमा प्रदर्शन, राजदूतकाे फ्लाइट सारियाे

विमानस्थल पूर्ण रूपमा सञ्चालन नहुँदासम्म आन्दोलन नरोकिने व्यवसायीको घोषणा


भैरहवा ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ । नेपाल–भारत सांस्कृतिक महोत्सवमा भाग लिन भारतीय राजदूत लुम्बिनी जाँदै गर्दा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे नेतृत्वको टोलीले विरोध प्रदर्शन गरेको हो ।

देवकोटा चोकबाट शुक्रबार ११ बजे सुरु भएको र्‍याली बैंकरोड, नारायणपथ हुँदै बुद्धचोक पुगेर १ बजे समापन भएको थियो । सिद्धार्थ सञ्जाल रुपन्देहीको आयोजनामा विभिन्न संंस्थाको सहभागिता रहेको सो र्‍यालीका सहभागीहरूले विमानस्थल सञ्चालनको माग गर्दै नाराबाजी गरेका थिए ।

भारतीय राजदूत नवीन श्रीवास्तव ११ः४० बजेको बुद्ध एअरबाट भैरहवा हुँदै लुम्बिनी पुग्ने पूर्वनिर्धारित कार्यक्रम थियो । मौसम अवरोधका कारण २ः१५ बजे भैरहवा अवतरण गरेको जनाइए पनि विरोध प्रदर्शनका कारण ढिलाइ भएको विमानस्थल उच्च स्राेतको भनाइ छ ।

कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवँगै रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री सुदन किराँतीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग जिज्ञासा राख्दा मुख्यमन्त्री चौधरीले सरकार विरोधी प्रदर्शनमा नजान गृहमन्त्री पाण्डेलाई भन्दाभन्दै पनि नमानेको बताएका थिए ।

प्रदर्शनपछि बुद्धचोकमा आयोजित कार्यक्रममा गृहमन्त्री पाण्डेयले यो राष्ट्रमा नेतृत्व गर्ने व्यक्तिहरूले आन्दोलन नगरेसम्म र शक्ति नदेखाएसम्म अधिकार नदिइएको बताए । उनले नेतृत्वमा रहेका व्यक्तिले काठमाडौंलाई नेपाल र नेपाललाई काठमाडौं नबुझ्न आग्रह गरे । उनले भने, ‘विमानस्थल पूर्ण सञ्चालनका लागि सरकारबाट हटेर भए पनि नेतृत्व गर्नुपरे गरौँला ।’

र्‍यालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता तथा लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष पाण्डे, लुम्बिनी प्रदेशसभा सदस्य तथा लोसपा नेतृ हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँन, उद्योगी, व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।

संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले नेपाल सरकारको आँखा नखुलेसम्म विमानस्थल सञ्चालनका लागि सो आन्दोलन जारी रहने बताए । उनले सो आन्दोलनलाई सानोतिनो नठान्न आग्रह गर्दैे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक–एक मिनेटमा नियमित उडान हुनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेश सदस्य देवीप्रसाद चौधरीले विमानस्थल सञ्चालनले सबैलाई लाभ हुने बताए । उनले प्रदेशसभामा कुरा उठाउँदा उठाउँदै पार नलागेपछि सडकमा आउनुपरेको बताए ।

त्यसैगरी प्रदेशसभा सदस्य हेमा बेल्बासे (केसी)ले सरकार सुतेजस्तो गरेको बताइन् । उनले आन्दोलन सफल पार्न सडकदेखि सदनसम्म आवाज उठाउने बताइन् ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुलप्रसाद न्यौपानेले कुनै पनि अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन नसक्दा अर्बौँ लगानी गरेर होटल व्यवसायी धरासायी बन्दै गएको बताए । नेपाल टुर एन्ड ट्राभल्स एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशका उपाध्यक्ष चन्द्र बहादुर थापाले यो आन्दोलनले सार्थक रूपमा लिने र सबैको साथ रहने विश्वास व्यक्त गरे ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका संस्थापक अध्यक्ष अनिलकुमार ज्ञवालीले विमानस्थलको टिकट नकाटेर आन्दोलनमा साथ दिन आग्रह गरे ।

उनले विमानस्थल सञ्चालनका लागि विशिष्ट व्यक्तित्वहरूलाई ज्ञापनपत्र बुझाइसकेको र माग पूरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले भने, ‘आन्तरिक हवाई उडान बन्द गर्नु अगावै हाम्रो माग पूरा होस् । नेपाली जनताको करबाट बनेको विमानस्थल हो, यसलाई सञ्चालन गर्नैपर्छ ।’

उनले विमानस्थल नचल्दा उद्योगी–व्यवसायी दयनीय अवस्थामा रहेको बताए ।