Logo

तनहुँ पुगेर नेता जोशीले भने -रामचन्द्रको जमानत जफत गराउँछु


तनहुँ । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले मंसिरको चुनावमा तनहुँ क्षेत्र नम्बर १ मा आफ्ै निर्वाचन लडने बताएका छन् ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १मा निर्वाचन लडने तयारी गरेपछि तनहुँ पुगेका पुर्ब सहमहामन्त्री जोशीले पौडेलको जमानत जफत गराउने चेतावनी दिएका छन् । पूर्व मन्त्री समेत रहेका जोशीले बिहीवार दमौलीमा शक्ति प्रदर्शनसहित निकालेको जुलुसलाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नम्बर १ मा पौडेलको विरुद्धमा विद्रोहका लागि तयार रहन कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।

‘यदि नेता पौडेल जवरजस्ती चुनावमा लड्नुभयो भने जमानत जफत हुन्छ’, पौडेललाई तनहँु क्षेत्र नम्बर १ बाट निर्वाचन नलड्न सल्लाह दिँदै नेता जोशीले भने, ‘त्यो अवस्था आउनु भनेका रामचन्द्र पौडेलले आत्महत्या गरेसरह हो ।’

आफूले पौडेललाई आत्महत्र्याबाट बचाउन तनहुँ क्षेत्र नम्बर १ मा चुनाव नलड्न सल्लाह दिएको जोशीको भनाई थियो । तनहुँका जनता पौडेलबाट धेरै लामो समय ठगिएको भन्दै जोशीले अब जनताको भावना अनुसार आफैँ चुनाव लड्न लागेको बताए । आफूलाई पार्टीले टिकट दिए पनि नदिए पनि तनहुँ क्षेत्र नम्बर १ का जनताले टिकट दिइसकेको जिकिर गरे । जोशीले उनीहरुकै बलमा चुनाव जित्ने दावी पनि गरेका छन् ।

पौडेलप्रति निकै आक्रामक बनेका जोशीले पौडेलले सधैँ जालझेलको राजनीति मात्र गरिरहेको बताए । २०५१ सालमा तनहुँ क्षेत्र नम्बर १ बाट भागेर २ मा चुनाव लड्न पौडेल गएको र अहिले पुनः क्षेत्र नम्बर १ मा नै फर्किएको भन्दै अब यस क्षेत्रका जनताले पौडेललाई स्वीकार नगर्ने जोशीको भनाई थियो ।

नेपाली कांग्रेस पछिल्लो समय सिद्धान्तहीन भएको भन्दै जोशीले सत्ताप्राप्तिको लागि जोसुकैसँग पनि घाँटी जोड्न कांग्रेस नेतृत्व तयार भएको जोशीको आरोप थियो । गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई नेपाली कांग्रेसले समर्थन गरेकोप्रति असन्तुष्ट देखिएका जोशीले यसअघि सधैँ रुखमा भोट हाल्ने बानी परेका कांग्रेस कार्यकर्तालाई कहिले हँसिया हथौडा, कहिले गाई, कहिले हलो र कहिले आँखा चिन्हमा भोट हाल्न नेतृत्वले दबाब दिएको बताए ।

आफ्नै पार्टीका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीले पटक–पटक शक्ति प्रदर्शन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल अफ्ठेरोमा परेका छन् । एकातिर बाम गठबन्धन भएको अवस्था, अर्कातिर आफ्नै पार्टीका नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने बाध्यताले पौडेललाई सकस परेको छ । क्षेत्र नम्बर १ बाटै पौडेल र जोशीका अलवा केन्द्रीय सदस्य शंकर भण्डारी र गोविन्द भट्टराईसमेत आंकाक्षी छन् ।

प्रतिक्रिया दिनुहोस्