Logo

माओवादी नेता ढुंगेल सिआईबीद्धारा पक्राउ, सदरखोरमा चलान


काठमाडौं ।सर्वोच्च अदालतले हत्या आरोप पुष्टि गरेपछि भागेर हिडेका माओवादी नेता बालकृष्ण ढुंगेललाई अन्नत प्रहरीले पक्राउ गरेको छ।

मंगलबार ललितपुरको सातदोबाटोबाट विहान ११ बजे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबीको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परे लगतै सिआएबीको टोलीले ढुंगेललाई हिरासतमा राखेको छ । थप प्रकृया पुर्याएर आजै वा भोली कारागार चलान गर्ने प्रहरीको तयारी छ ।

सर्वोच्च अदालतले दोषी ठहर गरेको लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न नसकेको भन्दै नेपाल प्रहरीका महानिरीक्षकमाथि समेत मानहानीको मुद्दा दायर भएपछि उनलाई पक्राउ गर्न प्रहरी तातेको थियो ।

सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र गिरफ्तार गरी कारागार चलान गर्नु भन्ने आदेश कार्यान्वयन नभएको भन्दै महानिरीक्षक अर्याल समेत विरुद्ध गत कात्तिक ८ गते अदालतको अवहेलना गरिएको भन्दै सर्वोच्चमा मुद्दा परेपछि प्रहरी उनलाई पक्राउ गर्न तातेको हो ।

ओखलढुंगाकै स्थानीय उज्जन कुमार श्रेष्ठ हत्या मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका ढुंगेल लामो समयदेखि अर्धभूमिगत भएर काठमाडौंमै बस्दै आएका थिए भने प्रहरीले फरार सूचीमा राखेको थियो ।

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो । उज्ज्नकुमारको हत्या अभियोगमा एमाओवादीका नेता एवम् पूर्वसभासद् बालकृष्ण ढुंगेल लगायतलाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेपनि उनी स्वतन्त्र घुमिरहेपछि कानूनी राज्यको उपहास गरेको भन्दै नेपाल प्रहरीमाथि समेत गम्भीर आरोप लाग्ने गरेको थियो ।उनी जेल चलान भएसँगै १९ वर्ष अघि ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या गरेको प्रमाणित भएको छ ।

सर्वोच्च अदालतले दोषी ठहर गरेको ढुंगेललाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो । ढुंगेलले अब १२ वर्ष ५ महिना २२ दिन कारागारमा बिताउनुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्