Logo

‘प्रधानमन्त्रीको उम्मेदवार मै हुँ’


२०४८ सालदेखि निरन्तर सांसद रहेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल आगामी मंसिर २१ मा दोस्रो चरणमा हुने प्रतिनिधिसभा सदस्यका लागि तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार छन् । कांग्रेसकै नेता गोविन्दराज जोशीको उम्मेद्वारी रद्द भएपछि पौडेल उत्साहित देखिएका छन् । पौडेल भन्छन्, ‘वाम गठबन्धनले मेरो जित रोक्न सक्दैनन् ।’ निर्वाचनकै विषयमा केन्द्रीत भएर  सम्पादक शिव लम्सालले बरिष्ठ नेता पौडेलसँग गरेकाे कुराकानीको सम्पादित अंशः


–वाम गठबन्धनदेखि पार्टीभित्रबाट तपाईँ अप्ठ्यारोमा परेको विश्लेषण भइरहेको छ । निर्वाचन अभियान कस्तो चल्दैछ ?

उम्मेदवारी दर्तालगत्तै शुरु भएको घरदैलो अभियानले गति लिएको छ । उसैपनि म जनताकै साथमा थिए । जनताकै सुख दुःखमा थिए । निर्वाचन नजिकिएपछि जनता बीचमा जाने अवसर पनि मिलेको छ । यो अवसरमा मैले जिल्लाको विकास निर्माणमा बाँकी काम के भइरहेको भन्ने बुझिरहेको छु ।

–मतदाताबाट कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?

मतदाता उत्साहित देखिएका छन् र आशावादी पनि छन् । मेरो आगमनले त्यसैपनि यस क्षेत्रका जनता उत्साहित थिए । किनभने, तनहुँको विकास रामचन्द्रले गर्ने हो भन्ने बुझेका छन् । अहिले पनि मलाई जिताउने यहीका जनता हुन् । मतदाताको घरदैलोमा पुग्दा उहाँहरुले आशिर्वाद नै दिइरहनुभएको छ । निर्वाचन जित्ने विश्वास दिइरहनुभएको छ ।

–वाम गठबन्धनका कारण पहिलेको तुलनामा अहिले अप्ठ्यारो होला नि त ?

यो गठबन्धनले तनहुँमा केही फरक पर्नेवाला छैन । किनभने, तनहुँमा कांग्रेसविरुद्ध पहिलो पटक गठबन्धन भएको होइन । पहिले पनि हुन्थ्यो । अहिले पनि भएका छन् । तर, सत्य के हो भने निर्वाचन कांग्रेसले जित्दै आएको छ । यो पटक पनि कांग्रेसले नै जित्नेमा कुनै शंका छैन ।

–छेटौं पटक निर्वाचन लडेको मान्छेलाई जनताले यति धेरै विश्वास गर्लान् भन्ने के छ आधार ?

हो, मलाई यहाँका जनताले जिताउदै आएका हुन् । किनभने, मेरो विकल्पमा जादैमा तनहुँको विकास हुन्छ भन्नेमा जनता विश्वस्त छैनन् । त्यसैले सँधै तनहुँका जनताको मलाई साथ रहँदै आएको छ । यस पटक पनि जिताउनेमा पूर्ण विश्वस्त छु । जनता सँधै मेरो साथमा छन् । उनीहरुकै मायाले यो पटक पनि चुनाव जित्छु ।

मेलै घरदैलोका क्रममा निर्वाचन जितेपछि गर्ने कामबारे जानकारी गराउँदै आएको छु । कृषि, पर्यटन, रोजगारी, ऊर्जालगायतको विकासमार्फत् गाउँको मुहार फेर्नु छ । अहिलेसम्म गाउँमा पूर्वाधारको निर्माण भयो । अब कच्ची बाटोहरु पक्की गर्नु छ । अरु थुप्रै कामहरु गर्नेछु, अहिले नै सबै भन्न नसकिएला । अहिलेसम्म जति काम गरेको छु, र जुन सपना देखेको छु । त्यो पूरा गर्न पनि जनताले मलाई साथ दिनेमा पूर्ण विश्वस्त छु ।

–गोविन्दराज जोशीको उम्मेद्वारी खारेजीपछि तपाई उत्साहित हुनुभएको हो ?

उहाँको उम्मेद्वारी निर्वाचन आयोगबाट खारेज भयो । त्यसपछि मलाई जिताउने अभियानमै उहाँ लाग्नुभएको छ । यसबारे धेरै अविश्वास नगरौं । किनभने, उहाँ पनि पार्टी नेता हुनुहुन्छ । पार्टी जिताउन उहाँ लाग्नुपर्छ । यो यहाँको कर्तव्य पनि हो । पहिलो जे गर्नुभयो, त्यो आवेगमा गर्नुभएको थियो । त्यसबाट पछि हटिसक्नुभयो ।

यसबेला कांग्रेस र लोकतन्त्रमाथि प्रहार भइरहेको छ । हामी मिलेर सामना गर्नुपर्नेछ । यो कांग्रेसका सम्पूर्ण पार्टी पंक्तिले बुझेको छ । यहाँ कोही उत्साहित र निराशाको कुरै छैन ।

–तपाई भावी प्रधानमन्त्री हो भनेर पार्टी महामन्त्रीले नै सार्वजनिक अभिव्यक्ति दिनुभयो । खास के हो ?

सँधै जनताको सेवाका लागि लोकतान्त्रिक आन्दोलनमा लागेको मान्छे हुँ । जनताको सेवा भन्दा ठूलो पद हो भन्ने लाग्दैन । जनताको त्यस किसिमको चाहना हुनसक्छ । यसमा पार्टी सभापतिको के इच्छा हुन्छ, त्यसमा पनि भर पर्छ । पार्टीलाई निर्वाचनमा जिताउन पनि म प्रधानमन्त्रीको उम्मेद्वार हुँदा नै सजिलो पर्छ । तर, निर्वाचन जितेर आएपछि प्रधानमन्त्री बने नबने पनि देशको सेवामा तल्लीन हुन्छु । सेवामा कुनै शंका छैन ।

प्रतिक्रिया दिनुहोस्