दश नमूना सहरमा पर्ने बुर्तिबाङ बजारमा बस्ती बढेसँगै बडिगाडखोला दुर्गन्धित

दश नमूना सहरमा पर्ने बुर्तिबाङ बजारमा बस्ती बढेसँगै बडिगाडखोला दुर्गन्धित


ढोरपाटन ।

बागलुङमा जथाभावी फोहर फाल्दा बडिगाडखोला दुर्गन्धित बनेको छ ।

बुर्तिबाङ-बोङ्गादोभान सडकको तलपट्टि तमानखोला किनार फोहरको ढङ्गुरले भरिएको छ। दैनिक हजारौँ यात्रु त्यही फोहरको ढङ्गुरमाथिको सडक हुँदै यात्रा गर्छन् ।

दश नमूना सहरमध्येमा पर्ने बागलुङको बुर्तिबाङ बजारमा बस्ती विस्तारसँगै जनघनत्व बढ्दो छ। यही कारणले दैनिक फोहर पनि बढ्दै गएको छ ।

बजारबाट निस्कने फोहर ढोरपाटन नगरपालिका–३ बाघखोरस्थित तमानखोलामा फाल्ने गरिएको छ । एक दशकअघि बुर्तिबाङ बजार सानो थियो । फोहर पनि थोरै निस्कन्थ्यो । सबै फोहर स्थानीयले खोला किनारमा फाल्ने गरेका थिए। र त्यही जलाउने गरेका थिए ।

तर अहिले बजारबाट निस्कने फोहर व्यवस्थापनमा समस्या भएको छ । नगरपालिकाले छ वर्षदेखि तमानखोला किनारमा बुर्तिबाङ बजारको फोहर फाल्दै आएको छ ।

बजारको फोहर फाल्ने ठाउँ साँघुरो हुँदा त्यो सबै तमानखोलामा पुग्ने गरेको छ। खोलाले बगाएर फोहर पुनः बजारसम्म पुर्‍याउँछ। फोहरले तमानखोला प्रदूषित बनेको छ । तमानखोला भएर बगेको फोहर बुर्तिबाङ बजार हुँदै भूजीखोला र सेराफेदीँमा आएर निसीखोलामा मिसिएर बडिगाडमा बग्ने गरेको छ ।

देशकै नमूना सहर भनिए पनि फोहर व्यवस्थापनमा नगरपालिका र नयाँ सहर आयोजना चुकेको छ । आर्थिक वर्ष २०६७/६८ मा नयाँ सहर घोषणा गरेर कामको थालनी गरे पनि अहिलेसम्म बुर्तिबाङ फोहर व्यवस्थापनका लागि पूर्वधार निर्माण हुन सकेका छैनन् । खोलामा बग्ने फोहरका कारण जलचर जीवलाई असर पुगेको छ ।

फोहरकै कारण बडिगाड खोलामा माछा पाउने क्रम घट्दै गएको जलारीहरु बताउँछन् । हाल फोहर व्यवस्थापन गरेको बाघखोर तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिका–३ र ४ को विभिन्न गाउँमा पुग्ने सडक छेउमै पर्छ। सडक छेउमा रहेको ‘डम्पिङसाइड’ का कारण यात्रुलाई समस्या भएको छ । बुर्तिबाङ बजारको फोहर नगरपालिकाको गाडीले दैनिक यही ल्याएर फ्याक्ने गर्छ। कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फालिँदै आइएको छ ।

खोला छेउमा फोहर व्यवस्थापन अव्यवस्थित रहेको ढोरपाटन–३ का मीनबहादुर घर्तीले बताए । बजारबाटै गाडीले फोहर सडक भरी खसाल्दै ल्याउने र जथाभावीरुपमा फाल्दा त्यसको गन्धले समस्या भएको उनको भनाइ छ।

वर्षौंदेखि बजारको फोहर व्यवस्थापनमा नयाँ सहर आयोजना र नगरपालिकाले चासो नदिँदा बाघखोर क्षेत्र र अन्य खोला प्रदूषित बन्दै गएका घर्ती बताउँछन् । हिउँदमा दुर्गन्ध कम भए पनि बर्खाको समय फोहरको गन्धले यात्रा गर्नै कठिन हुने उनको भनाइ छ ।

बुर्तिबाङ बजारमा घर थपिने क्रम बढ्दो छ । जनघनत्व बढ्दै गएको छ । तर बजारको फोहर व्यवस्थापन भने हुन सकेको छैन। सबै फोहर खोलाले बगाएर जताततै पुर्‍याउँछ। ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले फोहर व्यवस्थापनका लागि जग्गा नपाउँदा समस्या भएको बताए ।

आयोजना कार्यालयसँग सहकार्य गरेर जग्गा खोज्ने काम भइरहेको उनको भनाइ छ । जग्गा व्यवस्थापन हुनासाथ बजारको फोहर व्यवस्थान हुने उपप्रमुख कायतको विश्वास छ ।