Logo

जनताले लगाएको काम गरेरै देखाउँछु


काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं गोरखा क्षेत्र नम्बर १ ख का प्रदेशसभा सदस्य उम्मेदवार राजेन्द्र बजगाईले आफू सधैं किसान र मजदुरका पक्षमा रहेको बताउनुभएको छ ।

निर्वाचन प्रचारका दौरान गोरखाका विभिन्न क्षेत्रको भ्रमणमा रहनुभएका बजगाईले आफू श्रमलाई सम्मान गर्ने व्यक्ति रहेको भन्दै सबै नेपालीले कर्ममा विश्वास गरे देश बन्न समय नलाग्ने बताउनुभयो ।

निर्वाचन अभियानका दौरान जनताले गरिरहेका काममा सघाउँदै आउनुभएका बजगाईले नेपाल एक कृषिप्रधान राष्ट्र रहेको र अधिकांश जनता कृषिमै निर्भर रहेकोले किसानको साथमा आफू सधैं रहने बताउनुभयो । जुनसुकै काम गरेपनि त्यसले व्यक्ति, परिवार , समाज हुँदै राष्ट्रकै विकासमा टेवा पु¥याउने भन्दै नेता बजगाईले काम ठूलो सानो नहुने बताउनुभयो ।

निर्वाचन अभियानका दौरान उहाँले मतदाता जे जस्तो काममा व्यस्त छन्, त्यही काममा केही बेर सघाउनुभएको थियो । भरियाहरुसंग मत माग्दा भारी बोक्न , किसानसंग मत माग्दा हलो जोत्न र गृहिणीहरुसंग मत माग्दा घरायसी काममा सघाएर आफूले सांकेतिक रुपमा कर्मप्रति ऐक्यवद्धता जनाएको बताउनुभएको छ ।

कृषिमा आधुनिकिकरण गरेर गाउँका युवालाई गाउँमै रोजगारी दिने र आर्थिक स्तर उकास्नेतर्फ आफुले काम गर्ने बताउँदै बजगाईले गोरखा कर्मवीरहरुको भूमि भएको बताउनुभयो । निर्वाचन अभियानका क्रममा मतदाताहरु दिएको आश्वासनबाट आफू उत्साहित रहेको भन्दै बजगाईले निर्वाचन जित्नेमा कुनै शंका नरहेको बताउनुभयो ।

आफूले सुखसयल र ऐश आराम छाडेर गोर्खाली जनताको सेवा गर्न राजनीतिमा होमिएको बताउँदै बजगाईले सबै गोर्खालीको जीवनस्तर उकासेर विकास र समृद्धिमा नमूना बनाउन आफू सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्