Logo

कम्युनिष्टका कारण राष्ट्रियता खतरामा : नेता खाँड


काठमाडौं ।  नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पार्टीको केन्द्रीय परिचालन समितिका संयोजक बालकृष्ण खाँणले नेपालको राष्ट्रियतालाई कमजोर पार्ने काम कम्युनिष्ट दलले गरेको आरोप लगाउनुभएको छ ।

काँग्रेसको केन्द्रीय मिडिया सेन्टरद्वारा आयोजित बुद्धिजीवीसँगको भेटघाट कार्यक्रममा नेता खाँणले मुलुकको कुनै एक भू–भागमा बस्ने नागरिकलाई अपमानित गरी विदेशीसँग जोडेर भड्काउँदा राष्ट्र झन कमजोर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “भौगोलिक, जातीय, सांस्कृतिक र धार्मिक विविधता बोकेको हाम्रो जस्तो मुलुकमा सबैलाई समेट्न सकेमात्र राष्ट्रियता बलियो हुन्छ ।” अतिवादी सोच र व्यवहारले मुलुकलाई विखण्डनतिर डो¥याउने खतरा रहेको औँल्याउँदै नेता खाँणले भन्नुभयो, “पार्टीको स्थापनाकालदेखि नै काँग्रेसले मुलुकको विविधतालाई समेटर सबै पक्षलाई जोड्ने काम गर्दै आएको छ ।”

कार्यक्रममा प्राध्यापक केशवानन्द गिरीले कम्युनिष्टको समाजवाद सम्पन्नलाई विपन्न बनाएर कायम हुने र काँग्रेसको लोकतान्त्रिक समाजवादले गरिबलाई सम्पन्न बनाएर समाजवाद कायम गर्ने बताउनुभयो ।

डा लोक भट्टराईले कम्युनिष्ट दलले ५० वर्ष शासन गर्ने सार्वजनिक गरेको अभिष्ट नै अधिनायकवादको जड भएको बताउँदै स्वतन्त्रताप्रेमी नेपाली जनता अधिनायकवादको पक्षमा जानै नसक्ने ठोकुवा गर्नुभयो ।

प्राध्यापक डा गोविन्दमान सिंह कार्कीले कम्युनिष्ट दलले साम्यवादको कुरा उठाएकाले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचन काँग्रेसका लागि सहज हुने धारणा व्यक्त गर्नुभयो ।

पूर्वप्रशासक तथा लेखक जैनेन्द्र जीवनले काँग्रेसले ल्याएका आर्थिक विकास र समृद्धिका विषय मुलुकका लागि सान्दर्भिक भएको बताउनुभयो ।

कार्यक्रममा डा उद्धव प्याकुरेलले दोस्रो संविधानसभामा काँग्रेस सबैभन्दा ठूलो दल भएपछि मात्र मुलुकले संविधान पाएको बताउँदै काँग्रेसप्रति जनता आश्वस्त र विश्वस्त हुने पर्याप्त आधार भएको उल्लेख गर्नुभयो ।

पूर्वराजदूत डा जयराज आचार्यले कम्युनिष्ट दलले संविधानको प्रस्तावना फेर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको कुरा ल्याउने र ५० वर्ष शासन गर्ने कुरा ल्याएर अधिनायकवादतर्फ जाने उद्घोष गरेकाले लोकतन्त्रवादी र स्वतन्त्रताप्रेमी नेपालीको मत काँग्रेसमा आउने बताउनुभयो ।

कार्यक्रममा राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, प्रा देवकुमारी गुरुङ, प्राध्यापक पञ्चनारायण महर्जन लगायतले कम्युनिष्ट दलको अधिनायकवादका विरुद्धमा जनमत सिर्जना गर्न काँग्रेसलाई सहज भएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्