Logo

मौन अवधि : शान्त छन् रुकुम र रोल्पा


दाङ । निर्वाचनको प्रचारप्रसारका क्रममा उम्मेदवार लक्षित बिष्फोटका घटना भएका रुकुम र रोल्पा जिल्ला अहिले शान्त छन् ।

१० गते निर्वाचन हुने पुर्व र पश्चिम गरी दुइवटा रुकुम जिल्ला र रोल्पमा राजनीतिक दल, उम्मेदवारलगायत सबै पक्षले त्यहाँ शुरु भएको मौन अबधिको सम्मान पनि गरेका छन् । मौन अवधि शुरु भएसंगै राप्तीका पश्चिम रुकुम, पुर्वी रुकुम र रोल्पामा चुनावी तयारी पनि पुरा भैसकेको अधिकारीहरुले जनाएका छन् ।

मौन अवधिमा निर्वाचन आचार संहिता उलंघन भएका घटना यि तीनवटै जिल्लामा कहिँकतै नभएको जनाइएको छ । एउटा निर्वाचन क्षेत्र कायम भएको पश्चिम रुकुममा विहीवार निर्वाचनका सम्पूर्ण सामाग्रीहरु निर्वाचन केन्द्रमा खटिइसकेको जिल्ला अदालतका श्रेष्तेदार तेजप्रसाद ओलीले जानकारी दिए ।

‘निर्वाचन आचार संहिता उलंघनका घटनाहरु तथा निर्वाचन बिरोधी कुनै अप्रिय घटना पनि भएका छैनन्,’

उनका अनुसार पश्चिम रुकुकममा ८ सय ८८ जना कर्मचारी खटिएका छन् । यो जिल्लामा कुल १ सय ११ मतदान केन्द्र तोकिएका छन् । ‘निर्वाचन आचार संहिता उलंघनका घटनाहरु तथा निर्वाचन बिरोधी कुनै अप्रिय घटना पनि भएका छैनन्,’उनले भने ‘ हामीहरु अनुुगमनमै छौँ ।’ पश्चिम रुकुममा कुल ८७ हजार मतदाता छन् ।

यसैगरि पुर्वी रुकुममा पनि निर्वाचनको सम्पूर्ण तयारी पुरा भैसकेको मुख्य निर्वाचन अधिकृत दुर्गावहादुर भुषालले जानकारी दिए । उनका अनुसार एउटा निर्वाचन क्षेत्र कायम भएको यो जिल्लामा पनि विहिवारै निर्वाचन सामाग्रीहरु सहित कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । ‘निर्वाचन सामाग्री सहित कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन्,’उनले भने ‘केहि स्थानमा निर्वाचन आचार संहिताका बारेमा सर्वपक्षिय छलफल भैसकेको पनि जानकारी प्राप्त भएको छ ।’ उनका अनुसार ४२ मतदान केन्द्र कायम गरिएका पूर्वी रुकुममा ३ सय ३४ कर्मचारी खटिएका छन् । ‘अहिले सम्म कुनै अप्रिय घटना हाम्र्रो जिल्लामा भएको छैन,’उनले भने ‘कर्मचारी खटनपटन संगै अब निर्वाचनको पूर्ण तयारीमा हामीहरु बसिसकेका छौँ ।’ यो जिल्लामा पनि मौन अवधिमा निर्वाचन आचारसंहित भन्दा बाहिर गएर कुनै किसिमको घटना नभएको उनले वताए ।

यता अर्को जिल्ला रोल्पामा पनि रोल्पा सदरमुकाम बाहेकका अन्य सबै स्थानका मतदान केन्द्रहरुमा कर्मचारी खटिईसकेका छन् । रोल्पाका प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालका अनुसार यो जिल्लामा पनि निर्वाचन बिरोधी कुनै किसिमको कृयाकलाप भएको छैन । ‘निर्वाचन आचारसंहिता भन्दा बाहिरको कुनै पनि गतिविधी रोल्पामा भएको छैन,’उनले भने । रोल्पामा यसअघि उम्मेदवारहरुलाई लक्षित गर्दै बम बिष्फोट गराईएको भएपनि अहिले भने रोल्पाको अवस्था शान्तिपूर्ण रहेको उनले वताए । एक निर्वाचन क्षेत्र कायम भएको रोल्पामा ८० मतदान केन्द्र तोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्