Logo

रुकुम जीप दुर्घटनाः प्रहरी इन्स्पेक्टर दम्पतीको निधन


रुकुम । रुकुममा जन्ती बोकेको जीप दुर्घटना हुँदा बेहुला बेहुलीसहित सात जनाको निधन भएको छ ।

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम खलंगा आउँदै गरेको ग १ ज ४२६० नम्वरको जीप शुक्रबार राती रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६, कालीमाटीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा ३ जना महिला, ४ जना पुरुष रहेका छन् ।

स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा प्रहरी निरीक्षक द्वय नवीन श्रेष्ठ र अनिता प्रधान रहेका छन् । उनीहरु बिहे गरेर घर भित्रिएर फर्क‌दै गरेका थिए । बिहीबार मात्र बिहेपछि अनिता माइती घरबाट इटहरीस्थित नवीनको घर जाँदै गरेकी थिईन ।

मुसीकोट नपा १ का शेरबहादुर श्रेष्ठ, सुरेखा शाह श्रेष्ठ र सुधन श्रेष्ठको पनि मृत्यु भएको छ । शेरबहादुर बाबु हुनभने सुरेखा छोरी र सुधन छोरा हुन् । यस्तै मुसीकोट १ कै जनक शाह र त्रिवेणी गापा-१ की यमुना मल्लको पनि मृत्यु भएको छ ।

घाइते हुनेमा चालक दाङका प्रेम थापा, सहचालक बाँफिकोट गापा रुकुम पश्चिमका प्रेम केसी र दाङकै टेकबहादुर खत्री छन् । तीनै जना घाइतेको जिल्ला अस्पताल रुकुम पश्चिममा उपचारपछि नेपालगञ्ज पठाइएको छ । जीप सडकबाट करिव १५० मिटर तल खसेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्