टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल नेपाली बजारमा, कति छ दाम ?

टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल नेपाली बजारमा, कति छ दाम ?


काठमाडाैं ।

दुईपांग्रे तथा तीनपांग्रे सवारीसाधन निर्माता टिभिएस मोटर कम्पनीका उत्पादनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले कम्पनीको पहिलो टिभिएस रोनिन ‘मोडर्न–रेट्रो’ मोटरसाइकल नेपाली बजारमा ल्याएको छ ।

कम्पनीले नेपालमा आफ्ना ग्राहकका लागि टिभिएस रोनिन लन्च गर्दै प्रिमियम लाइफ स्टाइल सेग्मेन्टमा प्रवेश गरेको हो ।

उक्त मोटरसाइकल नेपालमा सार्वजनिक गर्ने अवसर पारेर आठ स्थानीय ब्लगर–इन्फ्लुएन्सर–सोसल मेडिया कन्टेन्ट क्रिएटरहरूले आठदिने यात्रा समापन पनि गरेको जनाइएको छ । उनीहरूले काठमाडौंबाट यात्रा सुरु गरी पोखरा, जोमसोम, लुम्बिनी, सौराहालगायत पहाड, हिमाल र तराईका विभिन्न भूभागमा करिब एक हजार तीन सय किलोमिटरको दूरी पार गरी काठमाडौंमा समापन भएको कम्पनीले जनाएको छ ।

टिभिएस रोनिनलाई स्टाइल, प्रविधि र सवारी अनुभवलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीको दाबी छ । दुई सय २५ सिसीको यो मोटरसाइकलको तौल एक सय ६० केजी रहेको र यसले यसले २०.४ पिएस पावर उत्पादन गर्नुका साथै १९.९३ एनएम टर्कले मोटरसाइकल वर्गमा सबैभन्दा राम्रो पावर–टु–वेट रेसियो बनाउने उल्लेख छ । क्लासिक डिजाइन प्याकेजमा, मोटरसाइकललाई रेन र अर्बन एबिएस मोड, ग्लाइड थ्रु टेक्नोलोजी (जिटिटी) र भ्वाइस र राइड सहायतासहितको स्मार्ट ब्लुटुथ कम्युनिकेसनजस्ता प्राविधिक सुविधा रहेको कम्पनीले जनाएको छ ।

मोटरसाइकल सार्वजनिक गर्दै प्रिमियम टिभिएस मोटर कम्पनीका बिजनेस हेड विमल सुम्ब्लीले यो मोटरसाइकल अनस्क्रिप्टेड लाइफ स्टाइल राइडरका लागि डिजाइन गरिएको बताए । उनले भने, ‘यसले नेपालका धेरै युवा राइडरलाई आधुनिक रेट्रो मोटरसाइकलको सहज सवारप्रति प्रोत्साहित गर्नेछ भन्ने कुरामा विश्वस्त छौँ ।’ अन्तर्राष्ट्रिय व्यापार पोर्टफोलियो निर्माण गर्ने धेरै वर्षको प्रतिबद्धताका साथ कम्पनीले विश्वभरका दुई र तीनपांग्रे्रे सवारीका चालकको विविध आवश्यकता पूरा गर्न बेन्चमार्क सेट गरेको उनको भनाइ थियो ।

पिटी टिभिएस मोटर कम्पनीका अध्यक्ष तथा निर्देशक जे थंगराजनले यो मोटरसाइकलले नेपाली बजारमा बाइकिङ समुदायलाई टिभिएस रोनिनको विशिष्ट डिजाइन, अत्याधुनिक प्रविधि र जडान गरिएका सुविधाको लाभ उठाउने अवसर प्रदान गर्ने लक्ष्य राखेको बताए । उनले भने, ‘यो मोटरसाइकलको लन्चले हाम्रो उत्पादनको दायरा, विशेष गरी आधुनिक रेट्रो क्षेत्रमा, विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई जनाउँछ ।’

टिभिएस मोटर कम्पनीका कार्यकारी निर्देशक अखिल गुप्ताले यसको डिजाइन र आधुनिक प्रविधिको मिश्रणले नेपालको जीवन्त संस्कृतिलाई प्रतिध्वनि गर्ने बताए । टिभिएस रोनिन नेपाली बजारमा टिडी संस्करण (ट्रिपल टोन डुअल च्यानल एबिएस)मा उपलब्ध रहेको र यसको मूल्य चार लाख ९९ हजार नौ सय रुपैयाँ तोकिएको छ ।