Logo

सुनसरीलाई विकासको नमूना बनाउने धोको छः उपप्रधानमन्त्री गच्छदार


सुनसरी । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले आफूले सुनसरीको विकासका मरिमेटेर काम गरेको र यसलाई विकासको नमूना क्षेत्र बनाउने संकल्प लिएकाले थप काम गर्नका लागि अवसर दिन मतदातासंग आग्रह गरे ।

सुनसरीको बर्जु गाउपालिकामा आइतबार सुनसरी क्षेत्र नम्बर ३ ले आयोजना गरेको बृहत चुनावी सभा कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपप्रधानमन्त्री गच्छदारले सो कुरा बताउनुभएको हो ।

नेपाली काङग्रेसका तर्फबाट सुनसरी क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार समेत रहेका उपप्रधानमन्त्री गच्छदारले आफू पटक पटक यो क्षेत्रबाट जितेर गएको र त्यसपछि यस क्षेत्रको डुवान कटान समस्या सहित सडक,पुल निर्माण,खानेपानी र स्वास्थ्य सेवा लगायतका आधारभूत सेवा उलब्ध गराएको उल्लेख गरे ।

उनले आफू संञ्चार राज्यमन्त्री हुँदा सञ्चारको क्षेत्रमा ल्याएको उदारवादी नीतिले देशमा रेडियो,टेलिभिजन,छापा माध्यममा नेपाल संसारमा तुलना गर्न लायक स्थानमा पुगेको पनि उल्लेख गरे ।

नेपाली कांग्रेसले लिएको सामयिक नीतिको फलस्वरुप नेपाली जनताले विकासको मुख देख्न पाएको पनि उनले उल्लेख गरे ।

गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ मा आफूले गरेको विकास जनताको आखा सामु छर्लङग रहेको बताए । एमाले माओवादीले गरिरहेको चुरीफुरी जनताले बुझिसकेकाले आफू छैटौं पटक समेत जित्ने जिकिर गरे ।

उनले नेपालमा राजतन्त्र र कम्युनिष्टहरु नेपालको राजनीतिक स्थायित्व, लोकतन्त्र, विकास र समृद्धिको बाधकको रुपमा देखा परेको र त्यसमध्ये राजतन्त्रलाई जनताले किनारा लगाईसकेको उल्लेख गर्दै शान्तिपूर्ण ढंगले प्रतिस्पर्धा गर्ने संसदीय व्यवस्थामा विश्वास नगरी अधिनायकवाद र निरंकुशताको बाटोमा गए कम्युनिष्टहरुलाई पनि जनताले किनारा लगाइदिने दावी गरे ।

उनले एमालेको अवरोध र माओवादीको सशस्त्र द्धन्द्ध नभएको भए मुलुकको विकासले फड्को मारिसकेको हुने पनि दावी गरे ।

उपप्रधानमन्त्री गच्छदारले बाकी रहेको कामहरु अब पूरा गर्ने र ५ वर्षभित्र सबै बाटोहरु कालोपत्रे गर्ने समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्