डा. शशांकको घोषणाः प्रधानमन्त्री र पार्टी सभापति म हुन्छु
कांग्रेसमा युवाको नेतृत्व नआएमा पार्टी अफ्ठेरोमा पर्छ
प्रकाशित मिति : 5 December, 2017
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफूलाई पार्टीको भावी सभापति र प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।
जनता टेलिभिजनका लागि सम्पादक शिव लम्सालले उनकै चुनावक्षेत्रको गैँडाकोटमा कुरा गर्दै नेता कोइरालाले कांग्रेसमा नेतृत्व परिवर्तनको विकल्प आइसकेको बताउँदै आफूलाई भावी नेताकारुपमा प्रस्तुत गरेका हुन् ।
‘पार्टीमा युवाहरुको आकर्षण पनि कम छ । अब प्रधानमन्त्री म हुन्छु । मेरो प्रतिनिधित्व भनेको युवाहरुको प्रतिनिधित्व हो’, उनले भने, ‘यो पटकको निर्वाचनमा टिकट बाँड्दा पनि युवाहरुलाई समेट्न सकिएन । अब मेरो नेतृत्वमा युवाहरुले कांग्रेसको नेतृत्व
गर्छन् ।’
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले अब अरुलाई पालो दिनुपर्ने बताए ।
‘रामचन्द्रजी र शेरबहादुरजीको उमेर पनि पुग्यो, अब मैले नेतृत्व गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसमा युवाको नेतृत्व नआएमा पार्टी अफ्ठेरोमा पर्छ ।’
बिपी कोइरालाको छोरो तपाईँले पनि कार्यकर्तालाई न्याय गर्न सक्नु भएन किन नि ? भनेर सोधिएको प्रश्नमा उनले अब त्यसका लागि भरमग्दुर प्रयत्न गर्ने बताए ।
‘मैले भरमग्दुर प्रयास गरेँ, तर न्याय दिन सकिनँ । म अझै पनि प्रयत्नशील छु’, उनले भने, ‘युवाको नेतृत्वमा मैले स्थापित गरेरै छाड्छु ।’
फरक प्रसंगमा बोल्दै उनले माओवादी केन्द्र र मधेसवादी दलसँग सिट बाँडफाँटमा कुरा नमिलेका कारण तालमेल हुन नसेको बताए । ‘माओादी र मधेसवादीसँग सिट बाँडफाँटमा कुरा नमिलेको हो’, उनले भने, ‘अरु केही कारण भए प्रचण्डजीले जान्नुहुन्छ ।’