सुदन किराँतीलाई सांसदको र्‍याख्र्‍याक्ती : ग्राउन्डेड जहाज बिक्री गरेबापत कति पैसा बुझ्नुभयो ?

सुदन किराँतीलाई सांसदको र्‍याख्र्‍याक्ती : ग्राउन्डेड जहाज बिक्री गरेबापत कति पैसा बुझ्नुभयो ?


काठमाडौं

२०७७ साउनदेखि ग्राउन्डेड चिनियाँ जहाज लिलामीकाे सूचना जारी गरेकाे विषयमा सांसदहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँग जबाफ मागेका छन् ।

नेपाल वायुसेवा निगमका ५ वटा चिनियाँ जहाज बिक्रीका लागि प्रक्रिया सुरु गरेसँगै प्रतिनिधिसभाकाे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले त्यसबारे मन्त्रीसँग जबाफ मागेका हुन्। उनीहरूले खरिद र बिक्रीको औचित्य स्पष्ट हुनुपर्ने बताएका छन्।

किन्ने समयको गलत योजना, उडाउन नसक्ने व्यवस्थापन र अहिले कौडीको भाउमा बेचिन लागिएको भन्दै उनीहरूले प्रश्न गरेका छन् ।

संसदीय समितिमा बिहीबारकाे छलफलमा सांसद प्रेम सुवालले ‘चिनियाँ जहाज बिक्री गरेबापत कुन एयरलाइन्सबाट कति पैसा बुझ्नुभयो?’ भन्दै पर्यटनमन्त्री किराँतीलाई प्रश्न गरे ।

‘काम नलाग्ने जहाज कसको स्वार्थमा किनियाे ? फेरि कसको स्वार्थमा बेच्न खोजिँदै छ ? पहिला यसको छानबिन हुनुपर्‍यो । खबरदार ! मन्त्रीज्यू, यसको टुंगाे नलागी जहाज बेच्नुहोला,’ सांसद सुवालकाे प्रश्न थियाे ।

वर्षौँदेखि ग्राउन्डेड जहाजका लागि ठुलाे रकम खर्च भइरहेकाे भन्दै निगमले ती जहाज बिक्री गर्ने तयारी गरेको हाे ।