Logo

वाम गठबन्धनका दुई सूत्रधार गौतम र श्रेष्ठ पराजित

प्रचण्ड सफल, ओली असफल


काठमाडौं । एमाले र माओवादीका बीचमा चुनावी गठबन्धन बनाउने सूत्रधारका रुपमा चिनिएका दुई जना नेता एमालेका बामदेव गौतम र माओवादीका नारायणकाजी श्रेष्ठ गठबन्धनका वावजुद पनि पराजित भएका छन् । दुई दलका बीचमा गठबन्धन भएको अवस्थामा अन्य निर्वाचन क्षेत्रमा जस्तै बहुमत भएको अवस्थामा पनि बामदेव बर्दिया क्षेत्र नम्बर– १ मा र नारायणकाजी गोरखा क्षेत्र नम्बर – २ मा पराजित भए । उनीहरु दुवैको पराजयलाई आम बाम कार्यकर्ताहरुले रहस्यका रुपमा लिएका छन् ।

श्रेष्ठ माओवादीमा दोश्रो वरियाताका नेता हुन भने बामदेव पनि पार्टीमा केपी ओलीले वरिष्ठ उपाध्यक्षको हैसियतमा कार्यबहाक अध्यक्षको जिम्मे दिने गरेका नेता हुन् । तर बाम गठबन्धन बनाएदेखि नै ओली र दाहालले दुवै नेतालाई पाखा लगाउने षड्यन्त्र बुनेको तथ्य बाहिर आउन थालेको छ । ओली र प्रचण्ड दुवैले आ– आफ्ना पार्टीका प्रभावशाली नेताहरुलाई यही चुनावमा पाखा लगाउने भित्रि योजना बनाएका थिए । त्यो योजनामा प्रचण्ड भने सफल भएका छन् । तर ओलीले भने योजनामा सफल हुन सकेनन् ।

ओलीले माधव नेपाल, भीम रावल, बामदेव गौतमलाई यही चुनावमा सिध्याउने रणनीति तयार गरेका थिए । तर ओली आफ्नो रणनीतिबाट चिप्लिएका छन् । ओली बामदेवलाई मात्र हराउने सफल भए । तर प्रचण्ड भने आफ्ना निकट सवै नेताहरु पाखा लगाउन सफल भएका छन् । प्रचण्डलाई प्रत्यक्ष तथा समानुपातिक तर्फ समेत उम्मेदवार नबनाएर रामबहादुर थापा बादललाई पाखा लगाइसकेका थिए भने नारायणकाजीलाई गोरखा दुईमा बाबुराम भट्टराईसंगै चुनावी प्रतिस्पर्धामा उत्रारेर पाखा लगाएका छन् ।

आफूलाई एमालेका तर्फबाट गौतमले प्रधानमन्त्रीको उम्मेदवार दावी समेत गरिरहेका थिए । ओली प्रधानमन्त्री भइसकेको अवस्थामा एमालेमा ओली गुटको सबैभन्दा सिनियर नेता आफू नै भएकोले प्रधानमन्त्री बन्न पाउनुपर्ने उनको चाहाना थियो । बामदेवको उमेरहद नाँधेका कारण उनी पार्टी नेतृत्वमा भुमिका नपाउने निश्चित भएको थियो । योसँगै एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई यी दुई ठूला नेता व्यवस्थापन गर्नका लागि सजिलो भएको समेत नेताहरुले विश्लेषण गर्न थालेका छन् ।

अब निर्वाचन हारेका श्रेष्ठलाई प्रचण्डले दोस्रो बरियताका नेता भएपनि सहजै व्यवस्थापन गर्ने अनुमान गरिएको छ । त्यस्तै एमाले भित्र आफ्नो गुटमा मुख्य व्यक्ति भएपनि ओलीले गौतमलाई व्यवस्थापन गर्ने नेताहरु बताउँछन् । पछिल्लो समय गौतमले ओलीसँग आफूले पनि लाभको पद पाउनुपर्ने वार्गेनिङ गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्