जङ्क फुड प्रतिबन्ध गर्दै शिक्षक र विद्यार्थीलाई दिवा खाजामा स्थानीय परिकार

जङ्क फुड प्रतिबन्ध गर्दै शिक्षक र विद्यार्थीलाई दिवा खाजामा स्थानीय परिकार


म्याग्दी ।

म्याग्दीको धौलागिरि गाउँपालिका–३ स्थित धौलागिरि माविका शिक्षक र विद्यार्थीले दिवा खाजाका लागि स्थानीय खाद्य पदार्थको परिकार बनाउन थालेका छन् ।

स्वास्थ्य, सरसफाइ र स्थानीय खाद्यान्नको प्रवद्र्धन गर्न आयात गरिएको खाजा (जङ्क फुड)लाई प्रतिबन्ध लगाइएको हो ।

प्रधानाध्यापक रुपेश सुवेदीका स्थानीय उत्पादनबाट हरेक दिन फरक फरक परिकार बनाएर शिक्षक र विद्यार्थीले खाजा खाने गरेका छन् ।

“जङ्क फुडले विद्यार्थी र शिक्षकको स्वास्थ्यमा असर परेको थियो”, उनले भने, “अभिभावक भेलाबाट आइतबारदेखि बिहीबारसम्म खाने खाजाको तालिकानै बनाएका छौँ । खर्चको पनि बचत भएको छ ।”

आइतबार तरकारी रोटी, सोमबार जाउलो, मङ्गलबार आलु पराठा, बुधबार तरकारी र अण्डा तथा बिहीबार चिया रोटी खाजा खाने तालिका बनाइएको छ । विद्यालयको चमेनागृहले तालिकाअनुसार खाजा बनाएर वितरण गर्ने गरेको छ । सरकारले प्रतिविद्यार्थी रु १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराएपछि सहज भएको अभिभावकले बताएका छन् । शिक्षकले पनि मकै, भटमास, कोदो, गहुँको पिठोको रोटी तथा आलुको परिकार बनाएर खाजा खाने गरेका छन् । शिक्षक–विद्यार्थी कोहीले पनि अहिले खाजा किनेर खाने गरेका छैनन् ।

धौलागिरि माविमा हाल एक सय १२ विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्र २०७९ देखि कक्षा ९ को पठनपाठन सुरु गरेको उक्त विद्यालयको कक्षा ६ देखि १० निजी स्रोतमा सञ्चालित छ । तीन शिक्षकलाई समुदायस्तरबाट मासिक रु साठी हजार जुटाएर तलब भत्ता खुवाउने गरिएको प्रअ सुवेदीले बताए ।

प्रावि तहमा पाँच शिक्षक, एक कार्यालय सहयोगी र बाल शिक्षा सहयोगी कार्यकर्ता दरबन्दीका हुन् । गाउँपालिकाले शिक्षण सहायता अनुदानबाट तीन शिक्षक उपलब्ध गराएको छ । कक्षा १० का १८ विद्यार्थीलाई एसइई परीक्षाका लागि छात्रावासमा राखिएको छ । विद्यालय परिसरमा १६ सिसीटिभी क्यामेरा जडान गरिएको विद्यालयले जनाएको छ ।